काठमाडौँ, २१ जेठ । काठमाडौँको उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगरपालिकालाई भक्तपुरको चाँगुनारायण नगरपालिकासित जोड्ने पुल निर्माण सक्न थपिएको समय सकिन एक महिना मात्र बाँकी हुँदा पनि काम सुरु हुन सकेको छैन ।
पहिलोपटकको म्यादमा काम सुरु गर्न लाग्दा पुल बनाउने स्थान विवाद भएर रोकिएको थियो । निर्माणको जिम्मा पाएको डिभिजन सडक कार्यालय भक्तपुरले पक्की पुलको काम सुरु नहुँदै निर्माण कार्य ६० प्रतिशत सकी सकेकोे सार्वजनिक गरेपछि उपभोक्ता आक्रोसित छन् ।
काम नै सुरु नगरी ६० प्रतिशत काम सकिएको सार्वजनिक अभिव्यक्ति दिएपछि कार्यालयले कागजमै मात्र पुल बनाउन खोजेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । रु तीन करोड ५० लाखको लागतमा पुल निर्माणको सम्झौता गरिएको थियो ।
“विसं २०७० साउनमा ठेक्का सम्झौता भई २४ महिनामा सक्ने लक्ष्य राखिएको पुलको निर्माण कार्य विसं २०७२ असार मसान्तमा सकिनुपर्ने थियो, निर्माण सकिनुपर्ने समय सकिएको ११ महिना बित्न लाग्दा पनि काम सुरु नभएकाले डिभिजन सडक कार्यालय भक्तपुरलाई सचेत गराएका छौँ”– पुल निर्माण सहयोग सरोकार समितिका उपाध्यक्ष कृष्णबहादुर थापाले भन्नुभयो ।
पुल बनाउने ठेक्का पाएको नागार्जुन कोसी एन्ड न्यौपाने जेभीले पक्की पुल बनाउन सुरु गर्नुअघि स्थानीयवासीले बनाएको फलामको पुल भत्काइदिएपछि वर्षात्को सुरुवातसँगै स्थानीयवासी नदी वारपार गर्न कठिनाइ हुने समस्यामा परेका छन् । मनोहरा नदीमा आउने बाढीले आवतजावत गर्न नपाइने स्थानीयवासीको गुनासो छ ।
पुल निर्माणको समय एक महिनामात्र बाँकी हुँदा पिलर गाड्न ५६ वटा खाल्डो खन्नुपर्नेमा १२ वटा खाल्डो खनेर अलपत्र छोडिएको स्थानीयवासीको गुनासो छ ।
“यो पुलबाट दैनिक ७०० मानिस काठमाडौँ र भक्तपुर ओहोरदोहोर गर्ने गर्छन्, फलामको पुल पनि भत्काएपछि बादल लागेका दिनमा आवतजावत गर्न नै डराउनुपर्ने अवस्था छ”– पानी परेपछि मनोहरा खोलामा आउनसक्ने बाढीका कारण दैनिक काम काजमा हिँड्नै डराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै पुल निर्माण सहयोग सरोकार समितिका अध्यक्ष नारायण पण्डितले भन्नुभयो ।
त्रिचन्द्र क्याम्पसमा अध्ययनरत यहाँका स्थानीय ईश्वर श्रेष्ठ फलामको पुल भत्काएपछि वर्षात्का समयमा खोलामा बाढी आउने चिन्ताले क्याम्पस जान नै डराउनुपर्ने अवस्था रहेको गुनासो गर्नुहुन्छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर देवविक्रम खड्का पहिले माटो परीक्षण गर्दा ढुङ्गा भेटिएकाले काम रोकिएर सडक विभाग पुल महाशाखाबाट पुनः नाप जाँच र डिजाइन गर्नुपर्दा समय लागेको बताउनुहुन्छ । “गत वर्ष भूकम्पले काम रोकियो, यस वर्ष नाकाबन्दीले काममा समस्या भयो, विभागबाट पुनः डिजाइन भएर आएपछि काम अघि बढ्छ”–उहाँले भन्नुभयो ।
पुलको उपभोक्तासमेत रहनुभएका काठमाडौँ–२ बाट निर्वाचित सांसद दीपकप्रसाद कुइँकेल परिणाममुखीभन्दा पनि प्रक्रियामुखी सरकारी तौर तरिकाले तोकिएको समयमा काम नसकिइ जनतालाई समस्या हुने गरेको बताउनुहुन्छ । “सही ढङ्गबाट नापजाँच गरेर काम सुरुवात गरी समयमै सिध्याउने परिपाटी बसाउन हामी माग गरिरहेका छौँ, ठेकेदार र सडक कार्यालय समयमा काम नसकी थप समय लिने प्रक्रियामा लाग्दा स्थानीयवासी आवतजावत गर्न नपाउने वातावरण बन्नुहुन्न”– उहाँले भन्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment