बनेपा, २ असार । काभ्रेपलाञ्चोकको अनेकोट हत्याकाण्डका विषयमा आज पीडितका आफन्तले किटानी उजुरी गरेका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि पीडितका आफन्त सिन्धुपाल्चोककी सुशीला सापकोटा, मसली तामाङ र शीला कुँवरले स्थानीय शान्ति समिति, धुलिखेलमा सो जाहेरी दिएको शान्ति समिति धुलिखेलका अध्यक्ष टुल्कु लामाले जानकारी दिनुभयो ।
विसं २०५५ चैत्र ५ गते भएको सो घटनामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी, प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान, काभ्रेपलाञ्चोकका तत्कालीन प्रजिअ प्रेमप्रसाद शर्मा सापकोटालगायतलाई हदैसम्मको कारबाहीको माग गर्दै पीडितका आफन्तले उजुरी दिएका हुन् । सो घटनामा शुभद्र सापकोटा, च्याङ्वा लामालगायत सात जनाको हत्या भएको थियो ।
यसैबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३८५ र बेपत्ता आयोगका लागि ३६ उजुरी परेको छ । रासस
No comments:
Post a Comment