उर्लाबारी (मोरङ), २५ असार । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताउनुभएको छ ।
नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले आज बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्षभित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताउनुभयो । आदिवासी जनजाति र मधेसी दलको माग पूरा नभई निर्वाचन हुन नसक्ने बताउँदै उहाँले संविधान संशोधन गरेर भए पनि उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकार फेरिँदैमा समस्या सुल्झँदैन
डा भट्टराईले सरकार फेरबदल हुँदैमा मुलुकका यावत् समस्या सुल्झन नसक्ने विचार व्यक्त गर्नुभएको छ । नयाँ शक्तिले आज बिहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले छिनछिनमा सरकार फेरिने राजनीतिक संस्कार नहटाएसम्म मुलुकमा राजनीति सङ्क्रमण कायम नै रहने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकार फेरबदलमा केही दल लागे पनि यसले मुलुकमा देखिएको समस्या हट्न सक्दैन ।”
उहाँले हालको व्यवस्थालाई संविधान संशोधनमार्फत नै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको आँैल्याउँदै संविधानमा नसमेटिएका विभिन्न विषयको समाधान खोज्न दलहरु एक भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment