Monday, July 25, 2016

प्युठानमा चार शव फेला, दुई बेपत्ता

प्युठान, ११ साउन । लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ ।

पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।

यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।

त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभएको छ ।

यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।

त्यसैगरी, खवाङ राजवारा र अर्खा गाविसमा अहिलेसम्म एक दर्जन घरमा क्षति भएको तर मानवीय क्षतिको भने कुनै विवरण नआएको बताउनुभयो ।

झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ ।

रजवारा गाविसमा स्थानीयले आफँैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले बताउनुभयो ।

अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ ।

सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिनुभयो ।

जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ । सिटी पोख्रेल/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts