Thursday, July 14, 2016

जीविकोपार्जनका लागि करोडौँ लगानी

बागलुङ, ३० असार । सामुदायिक वन क्षेत्रका किसानको जीविकोपार्जन सुधारका लागि रु तीन करोड सात लाख ८० हजार लगानी भएको छ । बहुसरोकारवाला वन कार्यक्रमबाट अनुदान पाएका जिल्लाका १०० सामुदायिक वन उपभोक्ता समूहले न्यून ब्याजमा उपभोक्तालाई ऋण सहयोग गरेका हुन् । जसबाट उपभोक्ता समूहभित्रका दुई हजार ५५ घरधुरी लाभान्वित भएका छन् ।

प्रतिघर १५ हजारका दरले ऋण दिइएको सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । बहुसरोकारवाला वन कार्यक्रमको जीविकोपार्जन सुधार योजना महासङ्घ र धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रले ‘लिवर्ड’ नामक संस्था मार्फत सञ्चालन गरेका हुन् । किसानलाई उद्यम विकासतर्फ अग्रसर बनाउन जीविकोपार्जन सुधार योजना सञ्चालन गरिएको हो ।

बाख्रा, कुखुरा, बङ्गुर, भैँसी, मौरीपालन, तरकारी खेतीलगायतका क्षेत्रमा उपभोक्तालाई ऋण सहयोग गरिएको महासङ्घका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । महासङ्घ र केन्द्रमार्फत चार÷चार वटा इलाका वन क्षेत्रका ५०÷५० सामुदायिक वन उपभोक्ता समूहभित्रका किसानलाई ऋण लगानी गरिएको छ । महासङ्घले रु एक करोड ७२ लाख ८० हजार र केन्द्रले रु एक करोड ३५ लाख लगानी गरेका छन् ।

महासङ्घले योजना सञ्चालन गरेको क्षेत्रका उपभोक्ता समूहले थप रु ३७ लाख ८० हजार आन्तरिक स्रोतबाट लगानी गरेका हुन् । “पाँच प्रतिशतमा किसानलाई ऋण सहायता दिएका छौँ, प्रत्येक दुई वर्षमा रकम उपभोक्ता समूहमा फिर्ता गर्नुपर्ने प्रावधान छ”, अध्यक्ष लामिछानेले भन्नुभयो – “उक्त रकम घुम्ती कोषका रुपमा उपभोक्ता समूहमा रहन्छ, बर्सेनि आलोपालो गरी किसानलाई लगानी गर्छौं ।”

महासङ्घले कुश्मीसेरा, बागलुङ, दोविल्ला र हटिया इलाका वन र केन्द्रले हुग्दीशिर, खरवाङ, बुर्तिवाङ र बोङ्गादोभान इलाका वन क्षेत्रमा जीविकोपार्जन सुधार योजना सञ्चालन गरेका छन् । योजना सञ्चालन भएपछि किसान व्यावसायिक बन्न थालेका छन् । बहुसरोकारवाला वन कार्यक्रम नरहे पनि वन उपभोक्ता समूहले सो योजनालाई निरन्तरता दिने केन्द्रका कार्यक्रम अधिकृत हरिचन छन्त्यालले बताउनुभयो ।

सोही योजनाबाट रु १५ हजार ऋण लिएर मौरीपालनलाई विस्तार गर्नुभएका दगातुम्डाँडा–८ राक्सेका दुर्गा अर्यालले मह बेचेर यो वर्ष रु एक लाख आम्दानी भएको बताउनुभयो । उहाँले अहिले २७ वटा घारमा मौरीपालन गर्दै आउनुभएको छ । “किसानलाई यो योजनाले उत्साहित बनाएको छ, न्यून ब्याजदरमा ऋण पाइने भएपछि गाउँमा जीविकोपार्जनका गतिविधि बढेका छन्” – अर्यालले भन्नुभयो ।

‘लिवर्ड’ का जिल्ला संयोजक वसन्ती परियारले किसानको जीवनस्तरमा सुधार ल्याउन उपभोक्ता समूहलाई अनुदान सहयोग गरिएको बताउनुभयो । “वन उपभोक्ता समूहभित्रका किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न यो योजना सञ्चालन गरिएको हो” – संयोजक परियारले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts