Thursday, July 14, 2016

आमाबुबाको गैरजिम्मेवारपूर्ण व्यवहारले बालबालिका हिंसामा

पाल्पा, ३० असार । अभिभावकको गैरजिम्मेवारपूर्ण व्यवहारले बालबालिका हिंसाको सिकार बन्न बाध्य भएका छन् ।

आपसी तालमेल नभई एकापसमा पटक पटक झैझगडा भइरहने घरपरिवारका बालबालिका बढी हिंसाको सिकार हुने गरेको छ । महिला तथा बालबालिका कार्यालय पाल्पाकी प्रमुख तुल्सा नेपालका अनुसार आमाबुबासँगै हुर्कन नपाएका बालबालिकाहरु बढी हिंसाको जोखिममा छन् ।

आमाबुबाले सम्बन्धविच्छेद गर्दा बालबालिका साहाराविहीन हुनुले उनीहरुले गलत संस्कार सिकेका हुन्छन् । आमाबुबाकोे मायाँ प्रेम नपाउँदा अरुको भरमा बाँच्नुपर्ने बाध्यताले बालबालिकामा हिंसा बढेको हो । अभिभावक नभएका बालबालिका र अभिभावक भए पनि बालबालिकालाई समय नदिने चलन बढी रहेको छ ।

वैदेशिक रोजगारका कारण सम्बन्धविच्छेदका घटना बर्सेनि बढेका छन् । श्रीमान् श्रीमतीहरु सम्बन्धविच्छेद गर्दा बालबालिकालाई संरक्षणको अभाव हुने र बालमैत्री वातावरण नहुँदा बालबालिकाको भविष्य अन्धकार हुने खतरासमेत उत्तिकै रहेको पाइन्छ ।

आमाबुबाको संरक्षणको अभावमा होटल तथा अन्य घरपरिवारले लालनपालन गर्दा संरक्षणकर्ताले नै हिंसा गर्ने गरेको महिला अधिकारकर्मीको भनाइ छ । मस्याम गाविस–९, की आठ वर्षीया साविता सोमै आफ्नै जेठाबुबाको रेखदेखमा अहिले छन् । आमाबुबाले बेवारिसे अवस्थामा बालिकालाई छाडेर हिँडेपछि उनलाई जेठाबुबा ज्ञानबहादुर सोमैले भारतसमेत सँगै लगेका थिए । जेठाबुबाले बालिकालाई कुटपिट गरी यातना दिँदै आएपछि अहिले माइजूले बालिकाको रेखदेख गर्दै आउनुभएको छ ।

अभिभावकका स्वार्थका कारण पछिल्ला अवधिमा बालबालिका हिंसाको सिकार बन्नेको सङ्ख्या बढेको हो । यस आवमा मात्र पाल्पा जिल्लामा जवरजस्ती करणी १३, घरेलु हिंसा २०, बहुविवाह सात, पुरुष पीडित दुई, अशक्त तीन, मानव बेचबिखन तीन, हराएको एक थान उजुरी महिला तथा बालबालिका कार्यालयमा दर्ता हुन आएका छन् ।

हिंसा रोक्न सरकारको एक्लो प्रयास असफल छ । महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्ने अभिभावकसमेत चनाखो हुन जरुरी रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

आमाबुबाको सहमतिमा सम्बन्धविच्छेद हुँदै आएका छन् । वैदेशिक रोजगारीका कारणले सम्बन्धविच्छेद हुने र ती परिवारका बालबालिका बढी मात्रामा हिंसा सहनु परेको गुनासा बढेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts