काठमाडौंँ २७ असार । नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औंँ वर्षको अवसरमा रुसी सांस्कृतिक केन्द्र काठमाडौंँमा युनिभर्सल कलेज मैतीदेवीका १४ विद्यार्थी कलाकारका कलाकृतिको प्रदर्शनी गरिएको छ ।
‘विश्वव्यापी चित्रकला प्रदर्शनी’ शीर्षकमा गरिएको प्रदर्शनीको आयोजना युनिभर्सल कलेज, नेपाल रुस आर्ट क्लब र रुसी केन्द्रले संयुक्त रुपमा गरेका हुन् ।
सो प्रदर्शनीकोे प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठान(नाफा)का उपकुलपति शारदा चित्रकारले उद्घाटन गर्दै कला विद्यार्थीले बनाएका कला निकै आकर्षक र उत्कृष्ट रहेको बताउँदै यस्ता कला प्रदर्शनी बेला बेलामा गर्न सके नेपाली कलाले विश्वमा परिचित हुने मौका पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि रुसका कावा राजदूत भ्यालरी आनिच्किनले प्रदर्शनीमा राखिएका कलाले नेपालको सांस्कृतिक परिदृश्यलाई देखाउन सकेको बताउनुभयो भने सांस्कृतिक केन्द्रका कार्यक्रम संयोजक अन्तोन मासलोभले कला प्रदर्शनी नेपाल र रुसको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण हुनेछ भन्नुभयो ।
कलाकार तथा कला समीक्षक रमेश खनालले कला विधार्थीले बनाएका कलामा देखिने परिपक्वपन र चिन्तन निकै आकर्षक रहेको बताउनुभयो । युनिभर्सल कलेजका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले प्रदर्शनीमा राखिएका कलाले नेपाली कलामा नयाँ पुस्ताले पनि महत्वपूर्ण योगदान दिन सक्छन भन्ने आत्मविश्वास बढाएको छ भन्नुभयो ।
नाफाका प्राज्ञ सुषमा राजभण्डारीले नेपालमा कलाको अध्ययन गर्ने कलेज तीन चार मात्रै रहेको र युनिभर्सल कलेजले निकै मिहिनेत गरेर कलाको अध्यापन गराएको बताउँदै यो प्रदर्शनी नेपाली कलाकै लागि महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा नेपालका सञ्जु थापा मगर, भूमिका चौधरी, गङ्गा हिमाली, पवित्रा खत्री, विनिता खडका, सहारा लामा, मनीष ट्वाटी, अमित बलामी, सुजन बुढाथोकी, लुजला मानन्धर, बालकृष्ण माझी, उषा श्रेष्ठ, विनय ताम्राकार, आशिष तामाङ र रिज्मा राजभण्डारी तथा रुसी कलाकार अन्नाका कलाकृति राखिएको छ ।
ती चित्रमा विविध सांस्कृतिक, भौगोलिक तथा सामाजिक विषयलाई चित्रण गरिएको छ । थारु संस्कृति झल्कने अस्टिम्की चित्रदेखि जीवितदेवी कुमारी, जङ्गली जनावर, विभिन्न जनजातिका मुहारचित्र, परम्परागत थाङ्का र पौभा कला समेत राखिएको छ । एक हप्तासम्म चल्ने सो प्रदर्शनीमा ५२ चित्र र १० मूर्ति राखिएका छन् । रासस
No related posts.
No comments:
Post a Comment