काठमाडौँ, १३ साउन । सूचना तथा सञ्चार मन्त्रालयले देशको विभिन्न भागमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिसम्बन्धी सूचना तथा जानकारी दिन मातहतका निकायका कर्मचारीलाई कार्यस्थलमा खटाउन निर्देशन दिएको छ ।
सूचना तथा सञ्चार सचिव दीनेशकुमार थपलियाको अध्यक्षमा मन्त्रालयअन्तर्गतका सञ्चार माध्यम र निकायका प्रमुखहरुको बुधबार सम्पन्न बैठकले बाढीपहिरोका कारण भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य सूचना प्रवाह गर्न निर्देशन दिएको हो ।
बैठकले विपद्का बारेमा नेपाल टेलिकमले सुरु गरेको एसएमएस सेवालाई अझै प्रभावकारी बनाउने र कार्यस्थलमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउन तथा त्यसका लागि आवश्यक सहयोग गर्न जिल्लास्थित सबै सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत गणेशराम पोखरेलले जानकारी दिनुभयो ।
बैठकले जिल्लास्थित विपद् व्यवस्थापन समिति, कमान्ड पोष्ट, क्षेत्रीय प्रशासन कार्यालय, स्थानीय प्रशासन र सुरक्षा समितिसँग समन्य गरेर सत्यतथ्य सूचना सङ्कलन गरी प्रशासन तथा प्रशारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
बैठकले विपद्बाट भएको क्षति र राहत एवम् उद्धार कार्यका बारेमा जानकारी नियमित रूपमा अद्यावधिक गरी प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउन सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
बैठकले बाढीपहिरोबाट क्षति भएका पूर्वाधारको अवस्था र तत्काल ती स्थानमा निजी वा सार्वजनिक संरचना निर्माण गर्न हुने वा नहुनेबारे सम्बन्धित निकायको भनाइसहितका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न सबै सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
मन्त्रालयले विपद्का बेला स्थानीयस्तरमा समेत सञ्चार सेवा अवरूद्ध हुन नदिइ सेवा सञ्चालन गर्न द्रुत कार्य टोली गठन गरी तत्काल परिचालन गर्ने व्यवस्था मिलाउन नेपाल टेलिकम तथा अन्य दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment