Friday, July 22, 2016

कवितासङ्ग्रह ‘मेरो घुमाउरो बाटो’ विमोचित

काठमाडौँ, ७ साउन । साहित्यकार इडा उपाध्यायद्वारा अङ्ग्रेजीमा लिखित ‘माइ वाइन्डिङ पाथ’(मेरो घुमाउरो बाटो) कवितासङ्ग्रह यहाँ आज विमोचन गरिएको छ ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उक्त सङ्ग्रह सात भागमा विभाजित छ र त्यसमा करिब १२० कविताका विषयवस्तुमा नारी स्वतन्त्रता, नारी पुरुषको सहयात्रा, नेपाली संस्कृति, संस्कार आदि छन् ।

कृति विमोचन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले छोटा छोटा कविताको शैली राम्रो भएको र यसले आफ्नो भाषा र संस्कृतिको परिचय विश्वमा दिनेखालको भएको बताउनुभयो ।

कार्यक्रममा समीक्षक प्रा डा अनिता ढुङ्गेलले रचनाकार आफ्नो बाल्यकालदेखि अहिलेसम्म भोगेका कुरालाई कलात्मक र सौन्दर्यपूर्ण तरिकाले कवितामा उतारेको बताउनुभयो । समीक्षक मोमिलाले उपाध्यायका कविताले प्रकृति, जीवन, समय र संवादसँग संवाद गरेको र सूक्ष्म रुपमा नारी संवेदनालाई अभिव्यक्त गरेको टिप्पणी गर्नुभयो ।

समालोचक महेश पौडेलले आफ्ना व्यक्तिगत अनुभव र अनुभूतिलाई समेटेर विश्वसँग संवाद गर्दै कविले पूर्वीय सभ्यता तथा स्थानीय माटो र सुगन्ध व्यक्त गरेको बताउनुभयो ।
वरिष्ठ इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल तथा साहित्यकार शशि रिमाल(रचनाकारका पितामाता)ले कवियत्री उपाध्याय सानैदेखि भावुक, अन्तर्मुखी र प्रतिभाशाली भएकाले अहिले कविता सङ्ग्रह गर्न सकेको बताउनुभयो ।

कवि उपाध्यायले आफ्ना आशा, निराशा, सुखदुःखका क्षणहरुलाई आफूले कविताको रुप दिएको जानकारी दिनुभयो । नेपाल र अमेरिकामा आफ्ना कविता वाचन गरिसक्नुभएका शिक्षिका तथा समाजसेवी उपाध्यायले बीस वर्षदेखि लेख्न सुरु गर्नुभएको हो । कथाकार पनि रहनुभएका उपाध्यायले यसअघि कथाहरुको सङ्ग्रह ‘हुलाकी’को सम्पादन गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts