इटहरी, ५ साउन । सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–३ पिपरा खेलमैदान भएको स्थानमा अत्याधुनिक कभर्ड हल निर्माण सम्पन्न भएको नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिनुभएको छ ।
सात कट्ठा जमिनको क्षेत्रफल रहेको उक्त स्थानमा रातिसमेत ब्याडमिन्टनलगायतका इन्डोर खेलहरु खेल्न सकिने गरी भ्यापर ल्याम्प समेतको व्यवस्थासहित रु ५५ लाखको लागतमा उक्त कभर्ड हलको निर्माण भएको पनि कार्यकारी अधिकृत चौधरीले बताउनुभयो ।
सांसद क्षेत्र विकास कोष र खेलकुद मन्त्रालयबाट प्राप्त रु २० लाख तथा नगरपालिकाले लगानी गरेको रु सात लाख एवम् स्थानीय उपभोक्ताको बाँकी लगानी रहेको कभर्ड हल यो जिल्लाकै नमुना हलका रुपमा रहेको सवइन्जिनियर हर्षलाल चौधरीले बताउनुभयो ।
यो कभर्ड हलसँगै अन्य खेलसमेत उक्त पिपरा खेलमैदानमा सञ्चालन गर्न सकिने गरेर मैदानको व्यवस्थापन गरिएकाले पिपरा खेलमैदानमा अरु एथ्लेटिक्सलगायतका खेल पनि सञ्चालन गर्न सकिने गरी सुधार गरिएको पनि सवइन्जिनियर चौधरीको भनाइ रहेको छ । रासस
No comments:
Post a Comment