Friday, July 8, 2016

मन्त्रीद्वारा विधयेकमाथि उठेका प्रश्नको जवाफ

काठमाडौँ, २४ असार । विनियोजन विधयेक, २०७३ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको छ ।

उद्योग सम्बन्धी विनियोजन विधेयकअन्तर्गत उठेका जिज्ञासाको जवाफ दिँदै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले संसदीय समितिबाट विशेष आर्थिक क्षेत्र(सेज) विधेयक पारित भएको र ऐन पारित भएसँगै सेज सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

उहाँले प्रत्येक प्रदेशमा औँद्योगिक क्षेत्र स्थापना गर्न सरकारले निर्णय गरी बजेटमा समेत आइसकेको र प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

आँैद्योगिक क्षेत्रको प्रोत्साहनका लागि आगामी १० वर्ष औँद्यागिक दशक बनाउने योजना रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “नवलपरासीको फलाम खानी, मुस्ताङमा रहेको नुन खानी, मुक्तिनाथ क्षेत्रमा रहेको युरेनियमको उत्खनन्को काम पनि अगाडि बढाउने योजना छ ।”

उहाँले कुनै पनि सार्वजनिक संस्थान निजीकरण नगरिने बताउँदै उहाँले जडीबुटी, सिमेन्ट उद्योगलगायतलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले न्याय प्रशासनलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम ल्याएको जानकारी गराउँदै गतवर्ष मात्र १९३ कानुनमा नयाँ संविधान बमोजिम संशोधन गरेको बताउनुभयो ।

मन्त्री खरेलले न्यायाधीश नियुक्तिलाई अझ बढी व्यवस्थित बनाउन संसद्मा न्याय परिषद् सम्बन्धी विधयेक प्रस्तुत गरिसकेको बताउनुभयो । हातहतियार खरखजानामा मुछिएका व्यक्तिलाई राष्ट्रपतिबाट माफी दिइएको भन्ने सांसदको जिज्ञासामा मन्त्री खरेलले कानुनी प्रक्रियाअनुसार माफी दिइएको स्पष्ट पार्नुभयो ।

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले युवाको सीप तथा क्षमता विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको बताउँदै मन्त्रालयमा बजेटको कमीका कारण जनअपेक्षाअनुसार कार्यक्रम ल्याउन नसकिएको उल्लेख गर्नुभयो ।

मन्त्रालयको बजेट मुलुकको कुल बजेटको ०.२२ प्रतिशतमा मात्र रहेको र पछिल्लो जनगणनाअनुसार ४०.४३ प्रतिशत युवा जनसंङ्ख्या रहेको बताउँदै उहाँले युवा वर्गका लागि इच्छाअनुसारका कार्यक्रम ल्याउन चुनौती रहेको बताउनुभयो ।

खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमा प्रतिबन्धित औषधिका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै उहाँले एक खेल एक एकेडेमीको अवधारणाअनुसार एकेडेमी निर्माणको कार्यलाई निरन्तरता दिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts