Friday, July 8, 2016

बाढी पहिरोका घटनामा परी ४७ जनाको मृत्यु हुनुका साथै १६ जना बेपत्ता

काठमाडौँ, २४ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाख यता मुलुकका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी ४७ जनाको मृत्यु हुनुका साथै १६ जना बेपत्ता भएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी गराउने क्रममा उहाँले यो अवधिमा भएका १२१ वटा बाढी पहिरोका घटनामा परेर ५७ जना घाइते भएको बताउनुभयो ।

बाढी पहिरोबाट १३८ घर पूर्ण क्षति हुनुका साथै १६० मा आंशिक क्षति पुगेको उहाँले सदनलाई जानकारी दिनुभयो ।

बाढी पहिरोबाट खासगरी सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, सल्यान, लमजुङ, रोल्पा, धादिङ, बाग्लुङ, सिन्धुली, गुल्मी, बाजुरा, चितवन, मोरङ, दाङलगायतका जिल्ला प्रभावित भएको गृहमन्त्री बस्नेतले जानकारी दिनुभयो ।

अरनिको राजमार्गमा चार किलोमिटर, दार्चुला, कर्णाली, पासाङ राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएकामा सडक विभाग र सुरक्षा फौजको सक्रियतामा तत्कालै खुलाउने प्रयास भइरहेको बताउँदै उहाँले भूउपयोग नीतिलाई योजनाबद्ध रुपमा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न स्थानमा भएको अतिवृष्टि र खण्डवृष्टिले पनि बाढी पहिरोका घटना वृद्धिले मानवीय र धनको क्षति हुन पुगेको धारणा राख्नुभयो ।

चट्याङबाट मुलुकभर भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै गृहमन्त्री बस्नेतले ललितपुरको टौखेलमा पर्खाल भत्किँदा बालबालिकाको मृत्यु भएको घटनाबारे पनि सदनलाई जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts