जनकपुरधाम २४ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले साहित्यकारले राष्ट्रलाई सही दिशा निर्देशनको दायित्व निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र डा राजेन्द्र विमल प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘मैथिली साहित्य सङ्गोष्ठी’मा उहाँले सिर्जनामा माटोको सुवास आउनु आवश्यक छ भन्नुभयो ।
मैथिली भाषा, संस्कृति र सभ्यता समृद्धि भए पनि राष्ट्रको भाषिक नीतिको त्रुटिगत सिकार हुनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “अब एकताको वातावरण निर्माणमा सर्जकहरु अग्रसर हुनुपर्छ ।”
साहित्यकार डा राजेन्द्र विमलले मूल्य र मान्यतामा विचलन आउन नदिन हरेक भाषाका सर्जक गम्भीर हुनुपछ भन्नुभयो । त्रिवि, मैथिली विभाग प्रमुख परमेश्वर कापडीले राज्यले मैथिली भाषाका सर्जकसँग विभेद गरिरहेको आरोप लगाउनुभयो ।
प्रा डा वीरेन्द्र पाण्डेले मैथिली साहित्यकारमा युगबोध प्रखर भएको विचार राख्नुभयो भने साहित्यकार अशोक दत्तले मैथिली साहित्यको हरेक विधामा देशको अवस्था, प्रेम, करुणा, हर्ष, विषाद्, ममता र राष्ट्रियताका स्वर मुखरित भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
विमल प्रतिष्ठानका संयोजक विजय दत्तको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार महेन्द्रनारायण मिश्रद्वारा लिखित ‘अफगार’(घाइते) र रामहृदयप्रसादको ‘जनकपुर दर्पण’ नामक कृतिको पनि विमोचन गरिएको थियो । रासस
––––––––––हिमांशु चौधरी
No comments:
Post a Comment