गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले देश बाहिर रहेका प्रवासी नेपाली समाजलाई नेतृत्व गरेर अगाडि बढ्ने अवसर एनआरएनएलाई भएकाले उक्त नेतृत्वदायी भूमिकाबाट चुक्न नहुने बताएका छन् ।
डेनमार्कको कोपनहेगनमा शुरु भएको गैर आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले यदि हामीले यसप्रकारको सूवर्ण अवसरलाई सदुपयोग गर्दै सहकार्य गर्न सकेनौं भने अरुले नै उक्त अवसर लिने बताए । अध्यक्ष घलेले भने संघ स्थापनाको करिब १४ वर्ष पार गरिसकेको अवस्थामा प्रवासमा क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढेर सबैलाई नेतृत्व गर्ने अवसर एनआरएनएलाई छ र यसलाई संस्थाले बेलैमा बुझेर अगाडि बढ्न सक्नु पर्छ । कार्यक्रममा बोल्दै उनले मानव तस्करीका कुराहरु पनि सुन्नमा आउने गरेका छन्, यस प्रकारका गलत क्रियाकलापहरुलाई पनि हामीले रोक्नुपर्छ भने ।
सोही कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हरेक एनआरएनहरुले विभिन्न देशमा बसेर सिकेका सीप तथा ज्ञान लिएर स्वदेश फर्कनु पर्ने अवधारणा व्यक्त गर्दै अब हामीले यूरोपबाट ज्ञान र सीप लिएर नेपाल फर्कनु पर्छ र आफ्नै देशलाई समृद्ध बनाउनु पर्छ भने ।
एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछानेले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेकाले अब स्वदेशमा नै लगानी गर्न एनआरएनहरुसँग आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि डेनमार्क स्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत रामकाजी खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरार्का, एनआरएनएका संस्थापक रामप्रताप थापा, संरक्षक दील गुरुंग, आईएमईका अध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका उपाध्यक्ष कुमार पन्त र भवन भट्ट, महासचिव डा. बद्री के.सी., सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी लगायतले आ आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको आयोजनामा जारी उक्त नवौं यूरोपियन बैठक एवं सातौं महिला सम्मेलनमा यूरोप क्षेत्रका करिब २० वटा मुलुकबाट गरी करिब दुई सय पचास प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक कमिटीले जनाएको छ ।
फोटो : बसन्त रानाभाट
No comments:
Post a Comment