Thursday, July 21, 2016

तोराखेतको पहिरो निरन्तरः एक घर र दुई गोठ बगायो

म्याग्दी, ७ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार बिहानदेखि खस्न सुरु भएको पहिरो ४८ घन्टा बितिसक्दा पनि रोकिएको छैन ।

पहिरोले तोराखेतमा एक घर र दुई गोठ बगाएको छ भने सयौँ रोपनी जग्गा पुरिसकेको छ । स्थानीय जग्गाविहीन बनेका छन् । गाउँ माथिबाट आएको पहिरोले धनबहादुर दर्जीका घर र गोठ बगाएको हो ।

विगत पाँच वर्षदेखि खस्न सुरु गरेको सो पहिरोले स्थानीय धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

मल्लले दिएको जानकारीअनुसार गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् ।

पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भए पनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका–४ बगरफाँट समेत जोखिममा परेको छ ।

पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाए पछि त्यहाँका १२ घर परिवार घरजग्गा विहीन बनेका छन् । विगतका वर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन् ।

त्यसैगरी, दुई दिनदेखि निरन्तर रुपमा खसिरहेको पहिरोका कारण पहिरोभन्दा तल रहेको बेनी नगरपालिका–४ बगरफाँट गाउँ समेत जोखिममा परेको छ । बगरफाँटवासी पहिरोको त्रासले रातभरि जाग्राम बसेका छन् । पहिरोले बगरफाँटमा पनि टीकाबहादुर कार्की र कृष्णप्रसाद रिजालको खेत पुरेको छ ।

त्यसैगरी, खानेपानीको पाइप बगाएपछि बगरफाँटमा दुई दिनदेखि खानेपानी अवरुद्ध बनेको छ । सिँचाइ नहर पुर्दा स्थानीयले रोपाइँ गर्न पाएका छैनन् । पहिरोका कारण बेनी–हाँडेभिर–सुर्केमेला–बरङ्जा सडक समेत अवरुद्ध भएको स्थानीयले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts