काठमाडौँ, १० साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिबद्ध रहेको तथा यसले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सूक्ष्म ढङ्गबाट नियालिरहेको बताउनुभएको छ ।
कृषिमा व्यवसायीकरणको जागरण अभियानमा कार्यरत ‘अष्ट ज अभियान’ नामक संस्थाबाट आफू समक्ष गमला हस्तान्तरण तथा उत्पादन र व्यवसायीकरणका सम्बन्धमा नेपाली सेनाको भूमिकाबारे गरिएको अन्तक्र्रिया कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीेले कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढङ्गबाट सामना गर्नु नेपाली सेनाको दायित्व रहेको स्पष्ट गर्नुभयो ।
उहाँले नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको बताउँदै सेनाले विपद् व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताका क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको जानकारी गराउनुभएको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ ।
सेनाले पनि सरसफाई तथा स्वास्थ्यमैत्री कार्यक्रमलाई अभियानकै रुपमा लागू गर्न ‘गो ग्रिन क्याम्पेन’ को सुरुआत गरेको बताउँदै उहाँले चाँडै अवकाशप्राप्त सैनिक व्यक्तिहरुलाई कृषिसम्बन्धी प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गर्न लागिएको पनि बताउनुभयो ।
सो अवसरमा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले आर्थिक विकासका निम्ति आठ ‘ज’ अर्थात् जल, जमिन, जङ्गल, जडिबुटी, जराजुरी, जनावर, जलवायु र जनशक्तिको उपयोगिताको उपयुक्त वातावरण निर्माणका निम्ति सम्बन्धित पक्षलाई दबाब सिर्जना गर्ने एवं उपयुक्त वातावरण निर्माण गर्न सघाउने उद्देश्य अनुरुप सो संस्था स्थापना भएको बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment