काठमाडौँ, १३ साउन । किताबबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई अझ व्यावहारिक रुपमा रुपान्तरण गर्न नेपालमा पनि मेकरस्पेस स्थापना गरी शुभारम्भ भएको छ ।
यहाँस्थित अमेरिकी दूतावासको आर्थिक एवम् प्राविधिक सहयोगमा टेकुस्थित नेपाल उद्योग वाणिज्य महासङ्घको भवनको भुइँतलामा स्थापित सो मेकरस्पेसमा खासगरी विद्यालय तथा दश जोड दुईका छात्रछात्रालाई अनौपचारिकरुपमा विभिन्न आधुनिक उपकरणका औजार तथा ती उपकरण निर्माणसम्बन्धी ज्ञान तथा जानकारी व्यावहारिक रुपमा दिइनेछ ।
हाल सो स्थानमा दूतावासको सहयोगमा नै महासङ्घले दुई वर्षदेखि पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । पुस्तकालयको एउटा कोठामा आजदेखि औपचारिक सञ्चालनमा आएको सो मेकरस्पेसमा आधुनिक सूचना प्रविधिका उपकरण कप्प्युटर, मोबाइल, फोन,फ्याक्स, फोटोकपी मेसिनदेखि बिजुली, धारा, काठका कामका लागि आवश्यक औजार पनि राखिएको छ । ती औजारलाई प्रयोग गरी सिर्जनात्मक ज्ञान प्राप्त गर्न सिकाउने र सिक्ने नै मेकरस्पेसको मुख्य ध्येय रहेको छ ।
हाल अमेरिकाका प्रत्येक विद्यालयले पुस्तकालयभित्र नै मेकरस्पेसको व्यवस्था गर्नुपर्ने नियम राखिएको बताइएको छ । केही युवाको सक्रियतामा स्थापित कारखाना नामक संस्थाले पनि काठमाडौँ उपत्यकाका चार विद्यालयका छात्रछात्रालाई मेकरस्पेसका बारेमा ज्ञान दिने काम गरिरहेको छ ।
अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रमसम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले सो मेकर स्पेसको शुभारम्भ गर्दै यसले नेपाली विद्यार्थी, उद्यमी र नागरिकलाई डिजाइन, निर्माण र उत्पादन गर्न तथा औजारको उपयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment