पर्सा, ८ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन गर्न नदिने उद्घोष गर्नुभएको छ ।
उहाँले संविधानमा मधेसीको अधिकार सुरक्षित गर्दै सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकाय वा अन्य निर्वाचन कुनै पनि हालतमा गर्न नदिने दाबी गर्नुभयो ।
सद्भावना पार्टी नगर कार्यसमिति वीरगन्जले आज वीरगन्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले मोर्चाले उठाएको मागलाई सम्बोधन गरेपछि मात्र मुलुकमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्भव रहेको बताउनुभयो ।
अब बन्ने नयाँ सरकारमा मधेसी मोर्चा सहभागी हुने बताउँदै नेता महतोले मधेसको माग सम्बोधन नभएसम्म सरकारमा मधेसवादी दल नजाने प्रस्ट पार्नुभयो । उहाँले मधेसको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै अध्यक्ष महतोले काठमाडौँ केन्द्रित आन्दोलनको स्वरुप परिवर्तन गर्दै कडा सङ्र्घषमा जान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
पार्टीका नगरअध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गरेका महिला पुरुषलाई अध्यक्ष महतोले फूलको माला र अबिरको टीका लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment