Thursday, July 14, 2016

विकास परियोजनाले गति नलिएकामा एडिबी चिन्तित

काठमाडौँ, ३० असार । एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकासका निम्ति सञ्चालन गरेका विकास–निर्माणका परियोजना द्रुत गतिमा कार्यान्वयन नभएकामा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

उक्त बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएका विकास परियोजनाको प्रगतिबारे आज यहाँ भएको समीक्षा बैठकमा लक्ष्यअनुरुप काम हुन नसकेको भन्दै बैंकका उच्च अधिकारीबाट चिन्ता व्यक्त भएको हो ।

यहाँस्थित उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले अघिल्लो समीक्षा बैठकबाट ऊर्जा क्षेत्रका चार परियोजनाका काम द्रुत गतिमा कार्यान्वयन गर्न २२ वटा कार्ययोजना निर्धारण गरिएकामा ११ वटा कार्ययोजना मात्र लागू भएका बताउनुभयो । ती आयोजनाले सात वटा लक्ष्य पूरा नगरेका र चार वटा कार्ययोजना पालना नभएको वास्तविकता उहाँले औँल्याउनुभयो ।

जलसम्बन्धी परियोजना र अन्य सहरी पूर्वाधार, यातायात, शिक्षा, कृषि, प्राकृतिक स्रोत र ग्रामीण विकासका आयोजनामा पनि लक्ष्यअनुरुप कार्यसम्पादन हुन नसकेको बताउँदै उहाँले त्रिभुवन विमानस्थल विस्तार आयोजना माटो अभावका कारण ठप्प भएकामा दुःख व्यक्त गर्नुभयो । परियोजना व्यवस्थापन पनि कमजोर रहेको उहाँले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषले विमानस्थल विस्तार आयोजनाका निम्ति आवश्यक पर्ने माटो परियोजनालाई नदिने भन्दै सरकारी निर्णय विपरीत विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त आयोजना प्रभावित भएको छ । अन्य परियोजनामा पनि जग्गा प्राप्ति, वन क्षेत्रसम्बन्धी विषय टुङ्गो नलाग्दा विकास आयोजनाका काम लक्ष्यअनुरुप सम्पादन हुन सकेका छैनन् ।

बैठकमा नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीले आन्तरिक एवम् बाह्य कारणले विकास आयोजनाका काम द्रुत गतिमा हुन नसकेका स्वीकार गर्दै अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई आफूहरूले विशेष जोड दिएको बताए ।

एडिबीको सहयोगमा हवाई यातायात क्षमता अभिवृद्धि, दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास, विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार, तनहुँ जलविद्युत् आयोजना, नेपाल ऊर्जा क्षेत्र सुधार, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका, ढल निकास व्यवस्थापन, काठमाडौँ उपत्यका खानेपानी सुधार, एकीकृत सहर विकास तथा सहरी वातावरणीय सुधार, सडक सञ्जाल विस्तार, भूकम्पपछिको आकस्मिक सहयोग, विद्यालय क्षेत्र विकास योजना तथा सीप विकास परियोजना, विकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीवनयापन, पुँजी बजार एवम् पूर्वाधार क्षमता विकासलगायत परियोजना सञ्चालनमा छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts