Sunday, July 10, 2016

चितवन पहिलो वातावरणमैत्री जिविस घोषित

चितवन, २६ असार । उपप्रधानमन्त्री कमल थापाले जिविस चितवनको कार्यालयलाई वातावरणमैत्री कार्यालयका रुपमा घोषणा गर्नुभएको छ ।
कार्यालय परिसरमा निर्मित ‘चितवन आमा’को मूर्तिको अनावरण र रक्तचन्दनको बिरुवा रोपेर सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सो घोषणा गर्नुभएको हो ।

सो अवसरमा उहाँले वातावरणीय असन्तुलनका कारण वातावरणीय प्रभावमा निकै ठूलो असर परेको छ भन्दै देशव्यापी रुपमा हरियाली बनाउन आवश्यक रहेको बताउनुभयो । विकसित मुलुकले सिर्जना गरेको प्रदूषणको असर अविकसित र विकासोन्मुख मुलुकमा परेको छ भन्दै उहाँले वातावरण परिवर्तनका कारण देखिएको प्रभाव कम गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

वन विनाश र भूक्षयका कारण वातावरणमा प्रतिकूल असर परेकाले यसलाई नियन्त्रण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । घरआँगन, सार्वजनिक कार्यालय एवं जिविस, महानगर, उपमहानगर, नगर र गाविस सबै वातावरणमैत्री बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले घर घरमा वृक्षरोपणका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो । सरकारले नक्सा पास गर्दा अनिवार्य वृक्षरोपण गर्नुपर्ने र बाटो बनाउँदा दायाँबायाँ वृक्षरोपण गर्ने मापदण्ड तयार गरेको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले सरसफाइ र हरियाली नेपालीको सभ्यता बन्नुपर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले सबैको सहयोगबाट नेपालमै पहिलो पटक जिविस चितवन वातावरणमैत्री कार्यालय बन्न सफल भएको बताउँदै यसलाई निरन्तरता दिन चुनौतीपूर्ण भए पनि कार्यान्वयन गर्न जिविस पछाडि नहट्ने दृढता व्यक्त गर्नुभयो ।

यसअघि उपप्रधानमन्त्री थापाले स्थानीय निकायका कर्मचारीसँग योजनाको जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts