काठमाडौँ, ४ साउन । पैसा भनी कागजका टुक्रा दिई ठगी गर्ने फरार अभियुक्त सोमबार पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले सोमबार काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गोमा लामाको जाहेरीमा बलराम श्रेष्ठसमेत भएको ठगी मुद्दामा काठमाडौंँ जिल्ला अदालतको २०६० माघ २२ को फैसलाले श्रेष्ठलाई छ महिना कैद तथा रु दुई लाख जरिवाना हुने ठहर भएको र उक्त कैद तथा जरीवाना भुक्तान नगरी उनी फरार भएका थिए ।
श्रेष्ठले लामालाई पैसा कमाउन विदेश जानुपर्दैन, म रु एक लाखको दुई लाख फिर्ता दिन्छु तिमीसँग भएको रकम मलाई देउ भनी आर्थिक प्रलोभनमा पारी रु दुई लाख लिएका थिए ।
उक्त रकम फिर्ता दिने क्रममा रु एक हजारको चारवटा नोट राखी चार वटा गड्डी बनाई त्यसभित्र नोटसँग मिल्ने आकारका कागजका टुक्रा राखी लामालाई दिई फरार रहेकोमा सोही दिन काठमाडौँ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरी ठगी मुद्दामा अदालतबाट उक्त फैसला भएको थियो ।
श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment