मेलम्ची, १० साउन । इलाका प्रहरी कार्यालय मेलम्चीले आइतबार मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा नागरिक सुनुवाइ कार्यक्रम तथा चोरीको मोटरसाइकल हस्तान्तरण कार्यक्रम आयोेजना गरेको छ ।
नागरिकका विभिन्न किसिमका गुनासो सुन्न र सुझाव लिनकोे लागि कार्यक्रमको आयोजना गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले बताउनुभयो ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय मेलम्चीले प्रहरीलाई चौबिसै घन्टा बजार गस्तीको सेवा प्रदान गरिरहेको र बजार गस्तीका कारण यसअघि हुने गरेको मेलम्ची बजार क्षेत्रमा चोरी डकैतीलगायतका विभिन्न किसिमका आपराधिक घटनामा निकै कमी आएको स्थानीय समाजसेवी सिद्धिनारायण श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा श्रेष्ठले नागरिक र प्रहरी एक सिक्काको दुई पाटा भएकाले नागरिक र प्रहरीको सहकार्यबाट आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सकिने धारणा राख्नु भयो ।
सहभागी नागरिकले पछिल्लो समयमा प्रहरी प्रशासनमा धेरै सुधार आएको बताउँदै कमी कमजोरीलाई सच्चाउँदै जानुपर्ने सुझाव दिएका थिए ।
इलाका प्रहरी कार्यालय मेलम्चीले गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरीप्रतिको नकारात्मकभन्दा पनि सकारात्मक विचार आएको हुँदा आफूलाई धेरै खुसी लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताउनुभयो ।
त्यस्तै नागरिक सुनुवाइ कार्यक्रम सँगसँगै काठमाडौँको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी गरेर ल्याएको सात वटा मोटरसाइकल समेत सम्बन्धित सवारी धनीलाई प्रहरी उपरीक्षक केसीले हस्तान्तरण गर्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी, महिला, विद्यार्थी र स्थानीयको सहभागिता थियो । रासस
No comments:
Post a Comment