बर्दिवास, २८ असार । लामो खडेरी खेपेका किसान जेठयता वर्षा भएपछि धान रोपाइँमा व्यस्त छन् ।
मध्य जेठभित्र राखिएको ब्याड असारको पहिलो सातामै हुर्केपछि धान रोपाइँ असार पहिलो सातादेखि नै सुरु भएको थियो । असार अन्तिम साता आइपुग्दा आधाभन्दा बढी रोपाइँ सकिएको भङ्गाहा–३ का गोविन्दलाल खाँ थारुले बताउनुभयो ।
असार पहिलो सातामा रोपिएको धान हरियो भएर लहलहाएको छ । यसअघि वैशाखमा राखिएको बर्खे धानको धूले बीउ खडेरीले डढाएपछि रोपाइँ गर्न नपाएर किसान पिरोलिएका थिए । जेठ सुरु भएदेखि नै पानी परेपछि समयमै रोपाइँ गर्न पाएकाले यसपाली धानबाली फष्टाउने किसानको विश्वास छ ।
तराई क्षेत्रमा असार मध्यसम्म हिउँदे धानको खाउर (कलम) लगाउने र साउन मध्यताका त्यही खाउर काढेर (उखेलेर) थप रोपाइँ गर्ने चलन छ । असार मध्यसम्म रोपिएको धान साउनको पहिलो सातापछि खाउर रोपिने र असार मध्ययता रोपिएको धान मूल रोपाइँ गर्ने गरिएको छ । रासस
No comments:
Post a Comment