काठमाडौँ, १४ साउन । भूकम्पपछिको पुनःनिर्माण भौतिकसँगै आर्थिकमा पनि केन्द्रित हुनुपर्नेमा सम्बन्धित निकायका अधिकारीले जोड दिनुभएको छ ।
राष्ट्रिय व्यावसायिक पहल (एनबिआइ) ले आज यहाँ आयोजना गरेको विपद् पूर्वतयारीमा निजी क्षेत्रको भूमिका कार्यक्रमका वक्ताले भूकम्पले पु¥याएको क्षतिबाट समाजलाई उठाउन आर्थिक पुनःनिर्माण पनि सँगै लैजानुपर्ने धारणा राख्नुभएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्वाहमुखी कृषि अर्थतन्त्रमा बाँचेका नेपालीलाई भूकम्पले उठ्नै नसक्ने गरी क्षति पु¥याएकाले भौतिकसँगै आर्थिक पुनःनिर्माणमा निजी क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । “भूकम्पपछि आठ लाख जनताको घर बनाउनु छ, यसलाई नेपाली निर्माण उद्योगले ठूलो अवसरका रुपमा उपयोग गर्नुपर्छ, गाउँ गाउँमा जाने पैसालाई उपयोग गरेर आर्थिक पुनःनिर्माणलाई सँगै अगाडि बढाउन सकिन्छ”– उहाँले भन्नुभयो ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट नेपाल) का आमोदमणि दीक्षितले गत वर्षको भूकम्पपछि अत्याधुनिक तालिम पाई साधन र स्रोत लिएर आएका ३४ देशका ७६ समूहले २० जनाको उद्धार गर्दा तालिम नपाएका नेपाली सुरक्षाकर्मीले २१५ जनाको उद्धार गरेको तथ्याङ्क सुनाउनुभयो । “नेपाली सुरक्षाकर्मीलाई तालिम दिएर साधन र स्रोतले सम्पन्न बनाए उद्धारमा राम्रो काम गर्न सक्ने कुरा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि देखिएको छ”– उहाँले भन्नुभयो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष पद्म ज्योति, समाजका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्यभक्त साङ्गाछे, अमेरिकी सहयोग संस्था युएस एडका सन्तोष ज्ञवाली, जर्मन सहयोग संस्था जिआइजेडका वरिष्ठ कार्यक्रम अधिकृत यादव ओझा र नेपाल चेम्बर अफ कमर्सका पूवअध्यक्ष सुरेन्द्रवीर मालाकारले भूकम्पपछिको पुनःनिर्माणसँगै आर्थिक पुनःनिर्माण गर्न ढिला भएकाले गति बढाउन माग गर्नुभयो । रासस
No comments:
Post a Comment