काठमाडौँ, ३ साउन । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक मङ्गलबार बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वभाविक रुपमा अल्पमतमा पर्नुभएकाले संविधान कार्यान्वयनको नेतृत्व संसद्को ठूलो दलका नाताले काँग्रेसले गर्ने विषयमा बैठकमा छलफल हुने पार्टीले जनाएको छ ।
काँग्रेसले नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिअनुसार अविश्वासको प्रस्ताव पारित गराउने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य विमलेन्द्र निधिले राससलाई जानकारी दिनुभयो ।
“प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार अर्को प्रधानमन्त्री बनाउन सकिँदैन भनी दिनु भएको धारणाका बारेमा छलफल गरी अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्री बनाउने वातावरणका विषयमा पनि छलफल हुनेछ”– उहाँले भन्नुभयो ।
संविधान कार्यान्वयनका लागि मधेसी, जनजातिलगायतका समस्या समाधान गरी आर्थिक उन्नतिमा मुलुकलाई अघि बढाउने विषयमा बैठक केन्द्रित हुने काँग्रेसले जनाएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भ्रातृ संस्थाको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
“नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घको विधान संशोधन र नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल सांस्कृतिक सङ्घलगायत भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि बैठकमा छलफल हुनेछ”– उहाँले भन्नुभयो ।
पछिल्लो समयमा बढेको महँगी, कालोबजारीलगायतका समस्या समाधान गर्ने उपायका विषयमा पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment