Thursday, July 28, 2016

इम्जा हिमताल जोखिम न्यूनीकरणको काम ७० प्रतिशत पूरा

सोलुखुम्बु, १३ साउन । इम्जा तालको जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गएको नेपाली सेनाको टोली पहिलो चरणको काम पूरा गरी नाम्चे फर्किएको छ ।

विगत चार महिना अघिदेखि इम्जा क्षेत्रमा खटिएको बराहा दल गुल्म नाम्चे र अमर दल गुल्म सल्लेरीबाट गएको नेपाली सेना, इन्जिनियर, ट्र्याक्टरसहित २२ जनाको टोली बुधबार नाम्चे फर्किएको हो । टोलीले इम्जा ताल क्षेत्रमा गेट निर्माण, क्यानल निर्माण र क्यानल खोल्ने काम सम्पन्न गरेको छ । कङ्क्रिट सुक्न केही समय लाग्ने भएकाले अन्य काम पूरा गरी टोली फर्किएको बराह दल गुल्मका क्याप्टेन कृतार्थ शम्शेर जबराले जानकारी दिनुभयो ।

जबराका अनुसार सेना १५÷२० दिनको फरकमा इम्जा क्षेत्रमा गएर तालको अवस्थाबारेमा जानकारी लिइरहनेछ । इम्जा क्षेत्रमा अहिले कन्सल्टेन्सीका इन्जिनियर टोली र श्रमिक मात्र काम गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार इम्जाको विस्फोटन खतरा न्यूनीकरणका लागि तीन मिटर पानी घटाउने लक्ष्यअनुसार पहिलो चरणको काम सम्पन्न भएको हो । जोखिम न्यूनीकरणका लागि विद्युतीय उपकरण जोड्ने तथा तालको पानी घटाउने काम सुरु गर्न भने केही समय लाग्ने शर्माले बताउनुभयो । प्रारम्भिक चरणदेखि हालसम्म आइपुग्दा ७० प्रतिशत काम पूरा भएको छ ।

पहिलो किस्ताबापत रु १३ करोड प्राविधिक तथा श्रमिक टोलीलाई निर्माणका क्रममा दिइसकिएको र दोस्रो किस्ताको रकम दिने प्रक्रिया पनि पूरा भइसकेको शर्माले बताउनुभयो । इम्जा तालको जोखिम न्यूनीकरणका लागि रु ३२ करोडमा सम्झौता भएको हो ।

समुद्री सतहबाट पाँच हजार १० मिटर उचाइमा रहेको इम्जा हिमताल जलवायु परिवर्तनका कारण आकार तथा गहिराइ बढेपछि विस्फोटको खतरा बढेको तालसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले जनाएको छ । समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को रु ३२ करोडको लगानीमा इम्जा तालको पानी घटाउने कार्य भइरहेको छ ।

विज्ञान प्रविधि तथा वातावारण मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग र युएनडिपीबीच गत २०१५ जुलाई १५ मा सम्झौता भई काम सुरु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts