Saturday, July 9, 2016

सरकार परिवर्तनले समस्या समाधान हुँदैन : अध्यक्ष चन्द

भक्तपुर, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले तत्काल सरकार परिवर्तन गरेर समस्या समाधान नहुने बताउनुभएको छ ।

आज राप्रपा भक्तपुरले अनन्तलिङ्गेश्वर नगरपालिका, गुण्डुमा आयोजना गरेको नगर भेलामा बोल्दै उहाँले वर्तमान सरकारको काम जस्तोसुकै भए पनि तत्काल सरकार परिवर्तनको खेलमा कोही पनि लाग्न नहुने बताउनुभयो ।

अध्यक्ष चन्दले भन्नुभयो ˗ “सरकार परिवर्तनका लागि राजनीतिक चलखेल बढाउनेभन्दा पनि अहिले ठूला दल एकैठाउँमा बसेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने बेला हो, त्यसैले सरकार ढाल्ने खेलमा लाग्नुभन्दा सबै मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्छ ।”

अध्यक्ष चन्दले राप्रपा र राप्रपा नेपालबीच आगामी साउन १० गतेभित्र पार्टी एकता भइसक्ने बताउँदै पार्टी एकताका लागि बाँकी रहेका केही प्राविधिक कार्य सकिएलगत्तै एकता घोषणा सभाको आयोजना गरिने बताउनुभयो ।

सरकारले अहिले भूकम्पपीडितका लागि भने प्रभावकारी ढङ्गले कार्य गर्न नसकेको अध्यक्ष चन्दको भनाइ थियो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु रोशन कार्की, रामहरि थापा, रवीन्द्रप्रताप शाह, सुरेन्द्र केसीलगायतले पार्टी एकीकरणले राष्ट्रवादीहरुलाई एक ठाउँमा ल्याउने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts