फैजाबाद (अफगानिस्तान), १९ असार । अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका २० जना सशस्त्र लडाकूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।
उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियारसमेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ ।
प्रान्तीय राजधानी फैजाबादमा शनिबार प्रहरीद्वारा आयोजित एक समारोहमा ती लडाकूहरूले आत्मसमर्पण गरी जिल्लाको प्रहरी मुख्यालयमा हतियार बुझाएका प्रहरी स्रोतले आइतबार सो जानकारी दिएको छ ।
मवलावी इक्रामुदिनको नेतृत्वमा ती २० लडाकूले हतियार बुझाउनुको साथै अबदेखि हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ ।
अफगान सरकारसँग युद्ध गरिरेहका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
अफगानिस्तानमा पछिल्लो समयमा हिंसा कायम नै रहेको छ । तालिवानले सरकारी कर्मचारी, सुरक्षा निकाय तथा नेटो सेनालाई समेत समयसमयमा निशाना बनाउने गरेका छन् ।
यस हिंसामा परी हाल यहाँ दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ । उनीहरूले सर्वसाधारण नागरिकलाई समेत लक्ष्यगरी गर्ने गरेका हमलामा परी ठूलो सङ्ख्याका सर्वसाधारणले पनि ज्यान गुमाउने गरेका छन् ।
सरकारले ती विद्रोहीलाई आत्मसमर्पण गरी शान्तिपूर्ण जीवनयापन गर्नका लागि आह्वान गर्ने गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । रासस÷सिन्ह्वा
No comments:
Post a Comment