Saturday, July 23, 2016

डुबानपछि रोग सङ्क्रमणको जोखिम

नेपालगन्ज, ८ साउन । निरन्तरको वर्षाले नेपालगन्जका विभिन्न टोल डुबानमा परे पनि पानीको उचित निकास खोल्न नसक्दा ती क्षेत्रमा रोग सङ्क्रमणको जोखिम बढ्न सक्नेतर्पm चिन्ता व्यक्त गरिएको छ ।

गत एक सातासम्म निरन्तर नेपालगन्जमा परेको अविरल वर्षापछि बेलासपुर, घरबारीटोल, सल्यानीबाग, धम्बोझी, कोरियनपुर, पुरैना र पुरैनी क्षेत्र डुबानमा परेका छन् ।

चारैतिरबाट पानीले छेक्नु र त्यहाँको पानीको निकास खोल्न विकल्प नभएका कारण ती क्षेत्र रोग सङ्क्रमणको जोखिममा पर्दै गएका छन् भने टोलवासीको दैनिकी समेत कष्टकर बन्दै गएको छ ।

गत वर्ष नेपालगन्ज नगरपालिकाले नगरका बाहिरी सडकमा सतही नाला र सडक अग्लो निर्माण गरेपछि भित्री सडक र नालालाई मूल नालासँग जोड्न नसक्नु नै डुबानका कारण बनेको प्राविधिक बताउँछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले प्राविधिकसँग सल्लाह गरेर पानी निकासका लागि विकल्पको खोजी भइरहेको र भोलिसम्म समस्या समाधान हुने बताउनुभएको छ ।

यसैगरी, गत साताको अविरल वर्षाले बाँके जिल्लाको राप्ती क्षेत्रका बासिन्दा पनि डुबानमा परेका छन् । विशेषतः जिल्लाका फत्तेपुर, होलिया, गङ्गापुर क्षेत्र डुबानमा परेको जनाइएको छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts