काठमाडौँ, ८ साउन । डा गोविन्द केसीतर्फको वार्ता टोलीले अहिलेको सरकारी वार्ता टोलीसँग आफ्ना माग पूरा हुने नदेखिएपछि वार्तामा बस्नुको औचित्य नभएको बताएको छ ।
केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले आफ्ना माग राजनीतिक विषयका भएकाले प्रशासनिक व्यक्तिमात्र भएको टोलीसँग वार्तामा बस्दा कुनै निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो ।
रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अहिलेको तरिकाबाट अगाडि बढ्न नसकिने देखिन्छ । हाम्रा माग बहुआयामिक भएकाले सरकारले कि हाम्रा माग सोझै पूरा गर्नुपर्छ । होइन भने राजनीतिक व्यक्तिसहितको उच्चस्तरीय वार्ता टोली बनाएर आउनुपर्छ ।”
सरकारी वार्ता टोलीका संयोजक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही विषय विज्ञसँग पनि छलफल गर्नुपर्ने खालका छन् । केही विषयमा सहमति भएको भए पनि केही राजनीतिक विषयमा वार्तामा कुरा हुन सकेन ।”
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसी विगत १४ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनशन बस्नुभएको छ ।
उहाँको स्वास्थ्य अवस्था पनि दिनप्रतिदिन नाजुक हुँदै गएको बताइएको छ । उहाँको समर्थनमा आज कलाकार, विभिन्न पेसाकर्मी, विभिन्न राजनीतिक विद्यार्थी सङ्गठन, सर्वसाधारणले ‘डा केसी हामी तिम्रो साथमा छौँ’ भन्दै माइतिघर मण्डलाबाट बानेश्वरसम्म प्रदर्शन गर्दै ¥याली निकालेका थिए । रासस
––––––––
No related posts.
No comments:
Post a Comment