काठमाडौँ, १ साउन । काठमाडौँको उत्तरी भेकस्थित टोखाको प्राचीन र सांस्कृतिक पहिचान त छँदैछ, अब यसलाई आधुनिक ढङ्गले पनि विकास गरिँदैछ ।
शिवपुरी डाँडाको फेदीमा रहेको यो प्राचीन नगर सामाखुसी चोकबाट चार किमी उत्तर पर्छ । नेवार समुदायको बाक्लो बस्ती रहेको टोखा प्राकृतिक रूपमा अति सुन्दर छ । मौलिक सांस्कृतिक र परम्परागत रूपमा पनि यो अत्यन्त धनी छ ।
काठमाडौँ उत्तरी क्षेत्रका ककनी, गुर्जेभन्ज्याङ, बाग्द्वार तथा सुन्दरीजल जाने बाटो टोखा नै हो । यहाँबाट उत्तर लागेर चण्डेश्वरी मन्दिर हुँदै पश्चिमतर्फको बाटाबाट बुढानीलकण्ठ मन्दिर निस्कन सकिन्छ । टोखा उखु र चाकुका लागि प्रसिद्ध ठाउँ हो ।
सोही नगरलाई पर्यटकीय रूपमा झनै आकर्षित गर्दै आधुनिक व्यवसायिकता मार्फत प्रवद्र्धन गर्ने उद्देश्यले टोखाकै स्थानीवासी मनिराम डङ्गोलले टोखा नगरपालिका–६ भूतखेल चौरस्जिथत इन्द्रायणी (मसानकाली) मन्दिर नजिकै रमणीयस्थलमा ‘टोखा केब मिनी फनपार्क’ (टोखा बगैँचा आमोदप्रमोद उद्यान) स्थापना गर्नुभएको छ ।
‘मौलिक संस्कृति हाम्रो सान, पर्यटन प्रर्वद्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एघार जना स्थानीयवासीको लगानीमा ‘टोखा केभ ट्रेड एन्ड इन्भेस्टमेन्ट प्रालि’को मातहतमा सो फनपार्क सञ्चालित छ ।
करिब १०० रोपनी जग्गामा रहेको भूतखेलको पछाडिपट्टि करिब १० रोपनी क्षेत्रफलमा फनपार्क निर्माण गरिएको हो । “मौलिक संस्कृति, सङ्गीत, खानपिन तथा बाजागाजालाई जीविन्त रूप दिने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने तथा गाउँमा रोजगारीको सिर्जना गर्ने उद्देश्यले पनि यो फनपार्क सञ्चालन गरिएको हो”–फनपार्कका सञ्चालक समेत रहनुभएका डङ्गोलले भन्नुभयो ।
शिवपुरी निकुञ्जका फेदमा शीतल तथा स्वच्छ वातावरणमा अवस्थित सो फनपार्कमा बेबी पुल, समुद्री छालको अनुभव गर्न सकिने पुल, स्लाइडिङ पुल, बाल उद्यान, नेपाली तथा नेवारी फास्टफुड रेस्टुराँ तथा सभासभारोह, बैठक, गोष्ठी, विवाह भोज, क्याटरिङ जस्ता सेवा सुविधा उपलब्ध छन् । पुलको गहिराइ ६ फि रहेको छ । त्यस्तै घोडचढी सेवा र फ्रि वाइफाइ सेवा समेत उपलब्ध छन् ।
करिब रु पाँच करोडको लगानीमा निर्मित फनपार्कको प्रमुख प्राथमिकता स्थानीयवासीलाई रोजगारी दिनु हो । “हामीले फनपार्क परिसरमै ओखलमा कुटेको चिउरा ग्राहकलाई खुवाउँदै आएका छौँ, हरेक शुक्रबार र शनिबार २ बजेपछि स्थानीय कलाकारले लाइभ म्युजिकबाट मनोरञ्जन गराउँछन् ’, डङ्गोलले भन्नुभयो ।
प्रशस्तै ऐतिहासिक मठमन्दिर, देवीदेवताका मूर्ति र प्राकृतिकस्थल रहेको टोखा गाउँ आफँैमा एउटा विशाल र ‘खुला सङ्ग्रहालय’ भएका कारण पनि फनपार्क राम्रैसँग सञ्चालन भइरहेको सञ्चालकको भनाइ छ ।
जाडो महिनामा पानीमा मनोरञ्जन गर्न असहज हुने भएकाले त्यस समयमा डुङ्गा चलाई रमाइलो गर्न सकिने डङ्गोलले जानकारी दिनुभयो । फनपार्कमा डुङ्गामाथि बसेर खानाको स्वाद लिन पनि सकिने छ । पौडीका लागि पार्कले सर्वसाधारणलाई रु ४००, एकल विद्यार्थीलाई रु ३०० र समूहमा आउने विद्यार्थीलाई रु २०० शुल्क लिने गरेको छ । रासस
No comments:
Post a Comment