Tuesday, July 19, 2016

चीन गएको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौँ, ५ साउन । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री चङ सिआओ सोङ्गको निमन्त्रणामा चीन गएको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फिर्ता भएको छ । असार २७ गते ११ दिने चीन भ्रमणमा गएको प्रतिनिधिमण्डल व्यवस्थापिका–संसद्को बैठकका कारण दुई दिन भ्रमण छोट्याएर मङ्गलबार साँझ स्वदेश फर्केको हो ।

चीन गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री सोङ्गले नेपाल–चीन मैत्री सम्बन्धमा पार्टीबीच भ्रमण आदानप्रदानको सिलसिलामा नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको प्रतिनिधिमण्डलका नेता रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले सोङ्गको भनाइलाई उद्धृत गर्दै यो भ्रमणले नेपाल–चीन सम्बन्धमा थप योगदान दिएको बताउनुभयो ।

सो अवसरमा नेता पोखरेलले नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धले नेपाल–चीन मैत्री सम्बन्धलाई थप योगदान दिने बताउनुभयो ।

प्रतिनिधिमण्डलमा सांसद सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा, दिवानसिंह विष्ट, शारदा पौडेल, विष्णुमाया परियारका साथै जिल्लाका नेता वीरबहादुर राना, वैकुण्ठ न्यौपाने, टेकप्रसाद गुरुङ, नारायणदत्त मिश्र र पूर्व राजदूत डा सुरेश चालिसे रहनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts