Saturday, July 23, 2016

चाँगुनारायणमा चाँपको जङ्गल बनाउँदै जापानी

चाँगुनारायण (भक्तपुर), ८ साउन । चाँपको जङ्गल भएका कारण ठाउँको नाम नै चाँगुनारायण रहेकामा लोपोन्मुख बनेको चाँपको वृक्षारोपणमा तीन वर्षदेखि जापानी नागरिक लागिपरेका छन् ।

योकोहामा विश्वविद्यालय र यामादा मौरीपालन संस्थानले विसं २०७१ देखि चाँगुनारायणमा चाँपलगायत स्थानीय जातका वृक्षरोपण गर्दै आएका हुन् । यामादा मौरीपालन संस्थानका संस्थापक प्रा आकिरा मियावाकी विसं २०५५ मा नेपाल आउँदा बाढी पहिरोको प्रकोप देखेर नेपालमा एक करोड वृक्ष रोपणको लक्ष्यसहित नेपालमा रुख रोप्न सुरु गरिएको थियो ।

संस्थानले काभ्रेपलाञ्चोक जिल्लाको ¥याले गाविसबाट विसं २०५६ मा वृक्षरोपण सुरु गरेको कार्यक्रमको संयोजन गर्नुभएका श्यामबहादुर डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकबाट सुरु भएको वृक्षरोपण भक्तपुर, ललितपुर हुँदै उपत्यकाको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र धार्मिक दृष्टिले महत्वपूर्ण चाँगुनारायणमा तीन वर्षदेखि निरन्तर छ । वृक्षरोपणका लागि प्रत्येक वर्ष तीन दर्जन जापानी नागरिक नेपाल आउँछन् ।

नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा आज आयोजित वृक्षरोपणमा १४ जातका एक हजार १८७ बिरुवा रोपियो ।

जापानीले नेपालमा रोप्ने गरिएभन्दा फरक तरिकाले वृक्षरोपण गर्छन् । मियावाकी विधि भनिने यो तरिका अनुसार वृक्षरोपण गर्दा ९० प्रतिशत रुख हुर्किएको स्थानीय गौरीशङ्कर केसीले बताउनुभयो ।

“जापानी नागरिकले तीन वर्षदेखि रोपेको बिरुवा हामीले सोचेभन्दा धेरै बचेको छ, तीन वर्षअघिसम्म खुला बनेको यहाँको पाखा अहिले हरियालीले छाएको छ” – उहाँले भन्नुभयो ।

जापानीले वृक्षरोपण गर्दा चाँगुनारायण क्षेत्रका पुराना जातका रुख के के हुन् भनी अध्ययन अनुसन्धान गरेर १३ प्रकारका रुख रोपिने गरिएको छ । विगत तीन वर्षदेखि कटुस, फलाँट, चिलाउने, खरी, चाँप, पैयुँ, कनिके, पुँवाले, लाँकुरी, रुद्राक्ष, तेजपात, काउलो र काफल जातका वृक्षरोपण गरिन्छ । यसलाई आज तेस्रो वर्षमा पनि जापानी नागरिकले नेपाल आएर निरन्तरता दिए ।

जापानीले गरेको वृक्षरोपणको विगत वर्षदेखि अध्ययन गर्दै आउनुभएका वातावरणविद् एवम् वनस्पतिविज्ञ महेन्द्रनाथ सुवेदी बिरुवा हुर्काउने सिद्धान्तमा आधारित भएर प्रा मियावाकीले स्थापित गर्नुभएको विधिमा वृक्षरोपण गर्दै आएको बताउनुहुन्छ ।

“यो विधिअनुसार ६० सेमीको फरकमा बिरुवा रोपिन्छ, सूर्यबाट सिधै आउने प्रकाश रोक्न परालले छोपिन्छ, परालले माटोको पानी बचाउँछ र बिरुवा वृद्धिका लागि प्राङ्गारिक मलको काम गर्छ” –अध्ययनमा देखेको सुनाउँदै उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनको असरलाई कम गर्न प्रा मियावाकीले विश्वमा चार करोड बिरुवा रोप्ने योजना अघि सारेकामा एक करोड बिरुवा नेपालमै रोप्ने घोषणा गर्नुभएको छ । योजनाअनुसार नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा सरकारसँग सहकार्य गरेर बिरुवा रोप्ने सोचमा पुगेको कार्यक्रम संयोजक श्यामबहादुर डङ्गोलले बताउनुभयो ।

चार करोड वृक्षरोपणका लागि जापानीले विश्वका एक हजार ५०० स्थानमा काम सुरु गरेकामा नेपालमा वन तथा भू–संरक्षण मन्त्रालयसँग सहकार्य गरेर एकै पटक धेरै बिरुवा रोप्ने योजनामा लागिएको संस्थानका उपाध्यक्ष योशिआकी शिन्म्योउ बताउनुहुन्छ ।

वृक्षरोपण गर्न आउनुभएका वन विभागका उपमहानिर्देशक हेमलाल अर्याल नेपालमा यो विधिअनुसारको लगानी र लागतमा बिरुवा नरोपिएको स्वीकार्नुहुन्छ ।

“यसैले हामीले रोपिएको बिरुवाको संरक्षण गर्न सकेनौँ, सरकारले वन दशकअन्तर्गत देशव्यापीरुपमा वृक्षरोपण गरिरहेको छ, यसमा जापानी संस्थासँग सहकार्य गरेर यो विधिअनुसार रोप्ने गृहकार्यमा छौँ, वृक्षरोपणको परिणाम प्राप्तिका लागि यो विधि प्रभावकारी रहेछ” – उहाँले भन्नुभयो ।

यो विधिअनुसार मलेसिया, थाइल्यान्ड, कम्बोडिया, भियतनामलगायत ३९ देशमा वृक्षरोपण हुने गरेको विश्वविद्यालयकी प्रा डा खाजुए फुजिवाराले जानकारी दिनुभयो ।

चाँपको रुखको नामबाटै चाँगुनारायणको उत्पत्ति भएको यहाँका स्थानीयवासीको विश्वास छ जहाँ अहिले दुईवटामात्र पुराना चाँपका रुख छन् ।

पहिले चाँपको वन नै भएकाले ठाउँको नाम चाँगुनारायण रहेको स्थानीय गम्भीरबहादुर प्रधान बताउनुहुन्छ । अब जापानीको प्रेरणाले चाँपको वन पुनःस्थापित हुन लागेकामा स्थानीयवासी खुसी छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts