चौतारा १७ साउन । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा थप दुई घर बगाएको छ ।
अविरल वर्षा भइरहेको र नदी कटानले पहिरो लागेपछि तातोपानी गाविसको चौकीडाँडामा थप दुई घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । बाढीले हालसम्म तातोपानी र बाह्रबिसेमा गरी चार साताका अवधिमा ९७ घरटहरा बगाइसकेको प्रहरीले जनाएको छ ।
भूकम्पले थिलथिलो पारेको तातोपानीको १० किलोस्थित सडकमाथिबाट आएको पहिराले लार्चास्थित पक्की पुललाई समेत क्षति पु¥याउने स्थिति छ । भूकम्पपछि माथिबाट आएको सुक्खा पहिराले त्यसै बेला पुलमा प्वाल परेको र हाल पनि सोही ठाउँमा पहिरो लागेको छ । माथिबाट खसेको पहिराबीचमा अड्किएर क्रमिक रुपमा ठूला ठूला ढुङ्गा खसिरहेको हुँदा ठूलो पहिरो एकै चोटि झरेमा पुल भाँचिन सक्ने खतरा रहेको प्रनि भुसालले बताउनुभयो ।
बाह्रबिसे–तातोपानी अवरुद्ध
डिभिजन सडक कार्यालयले डेढ साताअघिदेखि पहिरो पन्छ्याउँदै चाकु बजारसम्म खुलाएको बाह्रबिसे तातोपानी सडकखण्ड अझै अवरुद्ध छ । भोटेकोसीले जम्बुमा ५० मि पक्की सडक कटान गरेको र त्यसलाई डाइभर्सन गरी खुलाइएकामा पुनः अवरुद्ध भएको छ ।
नदीको बहाव बडेको र सडकको कुनातिरको भाग कटान गरी सडक निर्माण गर्ने अवस्था नभएकाले बहाव कम भएपछि मात्र तलबाट तारजाली लगाएर उकास्न सकिने डिइ अशोक तिवारीले बताउनुभयो । हाल दैनिक दुई स्काभेटर र एक डोजरद्वारा चाकुभन्दा माथिको अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
अविरल वर्षाले जुरेमा लेदो बग्ने र बलेफीमा पहिरो जाने क्रम नरोकिएको हुँदा दैनिक रुपमा डोजरद्वारा पहिरो पन्छाई यातायात खुलाउने गरेको डिइ तिवारीले बताउनुभयो । बलेफीको पहिरो पन्छ्याउन कुनै दिन आठ नौ घन्टासम्म लाग्ने गरेकाले ओखलढुङ्गा, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका विभिन्न भागमा चल्ने यातायात रोकिँदा यात्रुले ठूलो सास्ती भोग्नु परिरहेको छ । रासस
No related posts.
No comments:
Post a Comment