काठमाडौँ, २८ साउन । गङ्गा कर्माचार्य पौडेलका तीन बाल साहित्यिक कृति शुक्रबार एकसाथ विमोचन गरिएको छ ।
स्याङ्जा साहित्य परिषद्को आयोजनामा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रती र साहित्यकार शान्तदास मानन्धरले एकैसाथ पौडेलका तीन कृतिको विमोचन गर्नुभएको हो ।
उहाँहरुले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा पौडेलका तीन कृति ‘अप्पुको साइकल’, ‘भुइँचालो’ र ‘स्याङ्जाको नेपाली बालसाहित्यको इतिहास’ विमोचन गर्नुभएको हो ।
कृति विमोचन गदै प्रतिष्ठानका कुलपति उप्रेतीले पौडेलले प्रकाशन गर्नुभएको बालसाहित्य कृतिमा बालबालिकाको मनोवैज्ञानिक कुरालाई खोतल्न खोजेको भन्दै बालबालिकाले बुझ्ने भाषामा लेखिएको बताउनुभयो ।
उहाँले बालसाहित्य लेखन महत्वपूर्ण र चुनौतीपूर्ण रहेको भन्दै कृतिमा बालबालिकाको रुचि र बुझाइलाई बुझिने तरिकाले लेखिएको बताउनुभयो । ‘अप्पुको साइकल’ र ‘भुइँचालो’ बालसाहित्यलाई केन्द्रित भएर लेखिएका कृति हुन् भने स्याङ्जाको नेपाली बालसाहित्यको इतिहास स्याङ्जाको बालसाहित्यबारेमा लेखिएको छ ।
लेखिका पौडेलले दुई कृति बालबालिकाको सकारात्मक सीपको विकास र मनोरञ्जन प्रदान गर्ने खालको भएको बताउनुभयो । कार्यक्रममा ‘अप्पुको साइकल’माथि मित्रलाल पङ्गेनी, ‘भुइँचालो’ मा रमेश शुभेच्छुक र स्याङ्जाको नेपाली बालसाहित्यको इतिहासमा रामप्रसाद ज्ञवालीले टिप्पणी गर्नुुभएको थियो ।
अप्पुको साइकल र भुइँचालो अक्षरधाम प्रकाशन र स्याङ्जाको नेपाली बालसाहित्यको इतिहास विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।
बालकथामा आधारित अप्पुको साइकल चित्रमार्फत प्रस्तुत गरिएको छ भने भुइँचालोमा छवटा बालकथा भुइँचालोसम्बन्धी रहेका छन् । कथामा भुइँचालो कसरी, किन आउँछ र फेरि फेरि आउँछ भन्ने कुरा बालबालिकालाई सन्देश दिन खोजिएको छ ।
परिषद्का अध्यक्ष महेश्वर शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । रासस
–––––––––
No related posts.
No comments:
Post a Comment