Friday, August 12, 2016

औद्योगिक सुरक्षाको व्यवस्था गर्नमा जोड

काठमाडौँ, २८ साउन । देशमा आर्थिक विकासका लागि ‘औद्योगिक सुरक्षा’को खाँचो रहेकाले आवश्यक सङ्ख्यामा त्यसको व्यवस्था गर्नमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘औद्योगिक सुरक्षा’ सम्बन्धी अन्तक्र्रियामा सहभागीले औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुपर्नेमा सुझाएका हुन् ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योगीलाई विभिन्न क्षेत्र र तहबाट धम्कीका फोन तथा अनेकौँ चुनौती आउने बताउँदै उद्योगमा भौतिक आक्रमण तथा हात हालाहाल भए सुरक्षाबलले हस्तक्षेप गरी व्यवस्थापनसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुुभयो ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पुष्पराम केसीले सुरक्षा बलले घटनाका बारे सूचना प्राप्तगर्ने बित्तिकै औद्योगिक क्षेत्रलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक भोगबहादुर थापाले प्रहरीले नेपाल टेलिकमसँग सहकार्य गरी नयाँ फोनसेवा सुरु गर्न लागेको बताउँदै अब ११२ नं मा खबर गरेपछि सेवाग्राहीलाई आवश्यक सुरक्षासम्बन्धी सम्पूर्ण सहयोगको व्यवस्था हुने जानकारी गराउनुभयो । ं

पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एवम् सुरक्षाविज्ञ रवीराज थापाले उद्योगको संरक्षण गर्नुपर्नेमा जोड दिँदै औद्योगिक सुरक्षाका लागि पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणा, व्यवसायी उमेशलाल श्रेष्ठ, सुमित केडियालगायतले समग्र मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै निजी क्षेत्रको मनोबल घटाउन नहुने बताउनुभयो ।

औद्योगिक सुरक्षाका लागि करिब छ हजार सुरक्षाकर्मीको आवश्यकता रहेको भएपनि अहिले तीन हजार ५०० मात्र सुरक्षाकर्मी खटाइएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts