Wednesday, August 31, 2016

मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही : महासचिव पोखरेल

सिन्धुलीमाढी, १५ भदौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताउनुभयो ।

उहाँले एमालेले बोेकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै भएकाले ती मुद्दालाई जनताका बीचमा जागरणका रुपमा लैजान पार्टी परिचालित हुने पनि उल्लेख गर्नुभयो ।

एमालेका सचिव गोकर्ण विष्टले ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय कामको जगमा पार्टी प्रतिपक्षमा रहँदा एकतावद्ध भई आगामी प्रतिस्पर्धामा श्रेष्ठ हुने गरी अगाडि बढ्ने जनाउनुभयो ।

अर्का सचिव योगेश भट्टराईले संविधान बमोजिम स्थानीय तह र अन्य तहको निर्वाचन समयमा गर्न सरकारसँग माग गर्दै निर्वाचन नगर्ने र अनावश्यक विषयमा संविधान संशोधन गराउन खोजेर मुुलुकलाई अधोगतिमा धकेल्ने प्रयास चिनुपर्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रेस चौतारी नेपालले व्यावसायिक र वैचारिक रुपमा आफूलाई थप सशक्त बनाउन बैठकको सफल होस् भनी कामना गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको वृद्धि भएको न्यूनतम पारिश्रमिक लागू गराउन दबाब सिर्जना गर्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्य कमलजङ्ग राई, एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, सांसद् गणेश पहाडीलगायतले बैठकको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार कुन्दन अर्यालले ‘लोकतान्त्रिक संस्कृति निर्माणमा मिडियाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले व्यावसायिक रुपमा दक्ष र वैचारिक रुपमा प्रस्ट पत्रकारको संस्थाका रुपमा सङ्गठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत जेठ ६ देखि ८ सम्म काठमाडौँमा सम्पन्न आठौं अधिवेशनबाट चयन भएको चौतारीको नयाँ नेतृत्वको दोस्रो पूर्ण बैठकले तीन वर्षको कार्यकालका लागि कार्ययोजना, कार्य विभाजनलगायतका कार्यसूचीमा छलफल गर्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts