काठमाडौँ, ४ भदौ । एनडी एरोबिक्सले आयोजना गरेको तीजको कार्यक्रमबाट सङ्कलन भएको रु ५० हजार रकम अपाङ्ग अनाथ एकता समाज केन्द्रलाई हस्तान्तरण गरेको छ ।
एरोबिक्समार्फत् विभिन्न उमेर समूहका महिलाले आफ्नो तौल घटाउन सफल भएको भन्दै संस्थाले आयोजना गरेको कार्यक्रममा महिला स्वयम्ले रकम सङ्कलन गरेका थिए ।
समाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले आफूले दुःख गरी अनाथ र अपाङ्गता भएका ४० बालबालिकालाई आश्रममा राखेर पढाउने कार्य गरिरहेको बेला महिला दिदीबहिनीको सहयोगले निकै खुसी लागेको बताउनुभयो ।
केही महिनाको एरोबिक्सपछि नै आफ्नो तौल १० केजीभन्दा बढी घटाउन सफल कौसिला अधिकारीले एरोबिक्स नृत्यमार्फत् गरिने व्यायाम भएकाले यसले शारीरिक स्वस्थ बनाउने मात्र नभई नृत्य कौशलमा समेत दक्ष बनाउने विचार व्यक्त गर्नुभयो ।
यसैगरी उक्त एनडी एरोबिक्सका प्रशिक्षण नयन डिसीले सामाजिक कार्यलाई अगाडि बढाउने संस्थाको उद्देश्य रहेकाले सामाखुशीस्थित मानव सेवा आश्रमलाई समेत सहयोग गर्ने जानकारी दिनुभयो ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उक्त संस्थाको कार्यको प्रशंसा गर्दै आफूले गरेको कामले अरुलाई समेत प्रेरणा दिने किसिमका कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिन शुभकामना दिनुभयो । उक्त संस्थाबाट करिब १५० महिलाले एरोबिक्सको प्रशिक्षण लिइसकेका छन् । रासस
No comments:
Post a Comment