काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाको विकासका लागि छुट्टै ऐन निर्माण गर्नुपर्ने बताइएको छ ।
कामपाले आज यहाँ आयोजना गरेको स्थानीय निकायको पुनःसंरचना विषयक अन्तरक्रियामा कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नगरपालिका विकासक लागि छुट्टै ऐन निर्माण गर्ने र एकीकृत विकासका अवधारणा अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
एकीकृत विकासको अवधारणा नभएर नै उपत्यकामा थप गरिएका नयाँ नगरपालिकाले नागरिकको ढाड सेक्ने गरी कर उठाउनेबाहेक अन्य कुनै विकासको काम गर्न नसकेको प्रमुख तामाङले बताउनुभयो ।
स्थानीय निकाय पुनः संरचना आयोगका सदस्य डोरमणि पौडेलले महानगरको अधिकार नगरपालिका सरह मात्र भएकाले ऐन निर्माण गरी विकासको गति बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले उपत्यकाको संस्कृति जोगाउन काठमाडौँ, भक्तपुर र ललितपुरलाई समेटेर ‘बृहत महानगर’ बनाउनुपर्ने बताउनुभयो ।
कामपाका पूर्वप्रमुख पीएल सिंहले विसं २०४९ देखिनै एकीकृत विकासको अवधारणा अघि सार्दै आए पनि लागू हुन नसकेको उल्लेख गर्दै विकासका काम अघि बढाउँदा प्रत्यक्ष रुपमा स्थानीयबासीलाई सहभागी गराइनुपर्ने बताउनुभयो ।
सहभागीले काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्र, प्राचीन सांस्कृतिक तथा अन्य मूर्त र अमूर्त संस्कृतिलाई बजेटमार्फत सम्बोधन गर्नुपर्ने भन्दै जनताका लागि गरिने विकासमा प्र्रत्यक्षरुपमा उनीहरुलाई नै सहभागी गराइनुपर्ने धारणा व्यक्त गरेका थिए । रासस
No related posts.
No comments:
Post a Comment