पोखरा, ८ भदौ । पोखराको पर्यटकीय याम नजिकिँदै गर्दा यहाँका होटेलमा भइरहेका अग्रिम बुकिङ सन्तोषजनक देखिएको छैन ।
विगतमा यसै समयमा लगभग ८० प्रतिशतको हाराहारीमा अग्रिम बुकिङ हुने गरेको थियो भने यस वर्ष करिब ४० प्रतिशतको हाराहारीमा मात्र बुकिङ भएको होटेलका सञ्चालक बताउँछन् ।
पोखराका तारेदेखि पर्यटकस्तरीय होटलमा अग्रिम बुकिङ भूकम्प अघिका वर्षमा उत्साहजन देखिए पनि भूकम्प र नाकाबन्दीपछि निराशाजनक देखिएको छ । भूकम्प अगाडि याममा र अफसिजनमा पोखरामा पर्यटक निकै आउने गर्दथे ।
भूकम्प अघिको अवस्थामा लगभग तीन लाखको हाराहारीमा पर्यटक आउने गरे पनि त्यसपछि भने पोखराको पर्यटनमा एका एक मन्दी आएको व्यवसायी बताउँछन् । यस वर्ष पनि सिजन सुुरु हुनै लाग्दा पनि केही मात्रामा मात्रै बुकिङ आएपछि व्यवसायीलाई चिन्तित बनाएको छ ।
पोखराका केही होटेलमा बुकिङ सकारात्मक देखिए पनि समग्रतामा उत्साहजनक नभएको पश्चिमाञ्चल होटल एसोसिएसन (हान) का अध्यक्ष भरतराज पराजुलीले बताउनुभयो । “विगतको अनुभवमा हालसम्म ८० देखि ९० प्रतिशत बुकिङ भइसक्नुपर्ने थियो,” उहाँले भन्नुभयो,“ हालसम्मको अवस्थामा लगभग ४० देखि ५० प्रतिशत मात्र बुकिङ छ ।”
साना तथा मझौता होटेलमा भने खासै अग्रिम बुकिङ नहुने र ती होटेलमा विशेष गरी स्थानीय पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । सेप्टेम्बरदेखि डिसेम्बरको समय पोखराको महत्वपूर्ण पर्यटकीय याम भएको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा यस याममा पोखरा, अन्नपूर्ण पदमार्ग फेरोलगायतका क्षेत्रमा पर्यटक घुम्न आउने बताउनुहुन्छ ।
यस याममा विशेष गरी युरोपियन, अष्ट्रेलियन पर्यटक अत्यधिक मात्रामा पोखरा आउने गरेको उहाँको भनाइ छ । पोखरा आउने पर्यटकमध्ये केही पर्यटक अग्रिम बुकिङबिना आउने गरेको बताउँदै उहाँले भइरहेको बुकिङको अवस्था सन्तोषजनक नभएको बताउनुभयो ।
होटल बाराहीका प्रबन्धक राजकुमार केसीले हालसम्म लगभग ४० प्रतिशत मात्र बुकिङ भएको बताउनुभयो । “हालसम्म ६० प्रतिशतभन्दा बढी बुकिङ भइसक्नुपर्ने अपेक्षा गरिए पनि त्यो हुनसकेको छैन,” उहाँले भन्नुभयो । गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण पोखरा र आसपासको पर्यटन थिलोथिलो परे पनि पोखराका होटेलमा लगानीको क्रम भने बढिरहेको छ ।
पोखराका केही होटेलमा भने अहिले पनि बुकिङ सकारात्मक देखिन्छ । टेम्पल ‘ट्रि रिसोर्ट’ एण्ड स्पाका अध्यक्ष वसन्त गौतमले आगामी अक्टोबर, नोभेम्बरका लागि ६० प्रतिशत अग्रिम बुकिङ भएको जानकारी दिनुभयो । पोखराको लेकसाइडमा साना र ठूला गरी करिब चारसय ५० को हाराहारीमा होटल सञ्चालनमा आएका छन् । ती होटलमा करिब रु एक खर्बभन्दा बढीको लगानी भइसकेको छ ।
नेपाल आउने पर्यटक काठमाडौँपछि अधिकतम आउने स्थान पोखरा नै हो । नेपालमा आउने विदेश पर्यटकमध्ये पोखरामा ४० प्रतिशत पर्यटक आउने गरेको तथ्याङक छ । वासुदेव पौडेल/रासस
No comments:
Post a Comment