काठमाडौँ, २३ साउन । मुलुकभित्रै लगानी जुट्न नसक्ने र वैदेशिक लगानी पनि भित्र्याउन नहुने भन्ने दुई अतिवादी सोचका कारण नेपालको जलविद्युत् क्षेत्रमा उल्लेख्य लगानी आउन नसकेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिनुभएको छ ।
राष्ट्रिय सरोकार अभियानले आयोजना गरेको ‘नेपालको जलस्रोत विकासमा अरुण तेस्रोको निर्माण किन र कसरी ?’ विषयको अन्तरक्रियाका सहभागीले प्रष्ट नीति तथा योजनाको अभावमा मुलुक सधैँ अँध्यारो रहनुपर्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो ।
मुलुकभित्रै पनि भरपर्दो लगानीको स्रोत रहेको, प्राविधिक जनशक्ति, साधन र स्रोतसमेत रहँदारहँदै पनि नीतिगतरुपमा प्रष्टताको अभावमा जलविद्युत् क्षेत्र केवल भाषण गर्ने र लेख्नका लागि मात्रै सिमित रहेको उहाँहरुको कथन थियो ।
ठूला र मझौला जलविद्युत् आयोजना अगाडि बढाउन सक्ने साधन र स्रोत हुँदाहुँदै पनि महत्वपूर्ण आयोजना विदेशी कम्पनीलाई सुम्पने प्रवृत्ति बढेको उहाँहरुको कथन थियो । ऊर्जाविद् डा गोपाल शिवाकोटी ‘चिन्तन’ले अरुण तेस्रो, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी जस्ता ठूला जलविद्युत् आयोजना स्वदेशी लगानीमा स्वदेशी स्रोत नै प्रयोग गरेर अगाडि बढाउन सकिने भएपनि सरकारले विभिन्नरुपमा विदेशी कम्पनीलाई सुम्पेको बताउनुभयो ।
अरुण तेस्रो जलविद्युत् आयोजना आजभन्दा २५ वर्ष पहिल्यै निर्माण हुनसक्ने अवस्था रहँदारहँदै पनि आर्थिक चलखेलका कारण रोकिएको उल्लेख गर्दै उहाँले गलत मनसाय राख्नेले आयोजना पनि नबनाएको र आफूहरुलाई विकास विरोधीको बिल्ला भिराएको स्पष्ट पार्नुभयो ।
ऊर्जा क्षेत्रका जानकार डा बलबहादुर अधिकारीले ठूला आयोजना निर्माण गर्न चाहने कम्पनी र संस्थाले राष्ट्रिय एवम् स्थानीयको माग र उनीहरुको अधिकतम् हितलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
स्वदेशभित्रै पनि लगानी जुटाउन कुनै समस्या नपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिई केवल विदेशी भित्र्याउने नाममा साधन र स्रोतको अवमूल्यन गरेको उहाँको कथन थियो ।
कार्यक्रममा नेकपा माओवादीका नेता पदम राई, माथिल्लो कर्णाली सरोकार समितिका अध्यक्ष भरत शाही, डा सुरेन्द्र केसी तथा अधिवक्ता एकराज भण्डारीले स्वदेशी लगानी र सीपबाटै मुलुकको कायापलट गर्न सकिने भन्दै सोही दिशामा जलविद्युत् क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । रासस
––––––
No related posts.
No comments:
Post a Comment