Monday, August 8, 2016

प्रजातन्त्र सेनानी नेम्वाङको अन्त्येष्टि

भद्रपुर, २४ साउन । प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आज अन्त्येष्टि गरियो ।

झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब भएर उहाँ लामो समयदेखि थलिनुभएको थियो । उहाँको आज निन्दा खोलामा अन्त्येष्टि गरिएको हो ।

नेम्वाङको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाउनुभएको थियो । नेकाँ केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, नेकपा एमालेका वरिष्ठ नेता सुवास नेम्वाङ, व्यवस्थापिका–संसद सदस्य भीष्म नेम्वाङ, केशवकुमार वुढाथोकी, सरिता प्रसांई, महिन्द्र लिम्वु, उषा गुरुङ, नेकाँ झापा जिल्ला सभापति उद्धव थापा र कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले पनि स्व. नेम्वाङप्रति श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।

पछिल्लो समय उहाँलाई मुटुमा पनि सङ्क्रमण देखिएपछि आइतबार मात्रै सिटी हस्पिटल ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

काँग्रेसका पुराना नेता नेम्वाङले प्रजातन्त्र प्राप्तिका लागि हतियार समेत उठाउनुभएको थियो । बिपी कोइराला, मच्छिन्द्र केरुङ, दान खालिङहरुसँगै उहाँले पूर्वमा सशस्त्र क्रान्तिका लागि हतियार समेत बोक्नुभएको थियो । बिपी कोइराला निकट भई राजनीति गर्नुभएका उहाँ लामो समयदेखि राजनीतिबाट पृथक रहँदै आउनुभएको थियो । विसं २००७ र २०१८ को प्रजातान्त्रिक आन्दोलनमा सशस्त्र मोर्चाको कमान्ड सम्हालेका नेम्वाङ काँग्रेसद्वारा गठित मुक्ति सेनाका कमान्डर हुनुहुन्थ्यो ।

विसं २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गरेपछि उहाँले पूर्वको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । विसं २०४८ सालमा झापाको कलवलगुडीमा भएको काँग्रेसको आठौं महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय सदस्य चुनिनुभएको थियो ।

स्व. नेम्वाङका एक छोरा, तीन छोरी र श्रीमती छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts