काठमाडौँ, २४ साउन । ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ ।
वन विभाग र सामुदायिक वन महासङ्घको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो ।
वन विभागमा आज पत्रकार सम्मेलन गरी विभागका निमित्त महानिर्देशक गणेश झाले राष्ट्रिय वनको संरक्षण र सम्बद्र्धनका लागि सामुदायिक वनको ठूलो भूमिका रहेको भन्दै सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“सामुदायिक वनको अवधारणा, २०३४ सालमा पञ्चायती वन कार्यक्रमका रुपमा आए पनि सरकारीस्तरबाट अहिलेदेखि मात्र राष्ट्रि««य दिवस मनाउन लागेका हौँ ।”
उहाँले साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन देशभरका जिल्ला वन कार्यालय र सामुदायिक वन महासङ्घलाई विभागले पत्राचार गरिसकेको बताउनुभयो । हाल देशभर १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० सामुदायिक वन रहेका छन् ।
विभागले सामुदायिक वन अभियन्ताका रुपमा डा तेजबहादुर सिंह र नीलप्रसाद भण्डारीलाई ताम्रपत्रसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सामुदायिक वन महासङ्घका अध्यक्ष गणेशबहादुर कार्कीले सामुदायिक वनको संरक्षण र सम्बद्र्धनमा महासङ्घ गम्भीर रुपले लागेको जानकारी दिनुभयो ।
सामुदायिक वन दिवसका अवसरमा महासङ्घले आज भक्तपुरको चाँगुनारायणमा वृक्षरोपणसमेत गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment