Friday, August 26, 2016

बढी भाडा लिँदा पनि सहन बाध्य

ललितपुर, ११ भदौ । ठेचोकी सम्झना महर्जनले तीन किमीभन्दा कम दूरीमा माइक्रोबस चढ्दा समेत रु १० तिर्ने गर्नुभएको छ ।

सरकारले पछिल्लो पटक लागू गरेको भाडा दर अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुट सहित न्यूनतम भाडा रु आठ तोकिएको छ । सार्वजनिक सवारीले भने विद्यार्थीसँग न्यूनतम रु १० लिँदै आएका छन् ।

हरिसिद्धिका सन्तोष केसी न्यूनतम रु १३ तोकिएको भए पनि आफूले दैनिक रु १७ सम्म तिर्न बाध्य भएको बताउनुहुन्छ । हरिसिद्धिबाट लगनखेलसम्म चार किमीभन्दा बढी नभए पनि उहाँ न्यूनतमभन्दा रु चार बढी रकम तिर्न बाध्य हुनुहुन्छ ।

पेट्रोलियम पदार्थको भाउ बढ्दा सवारीको भाडा बढाउन हतार गर्ने सार्वजनिक सवारीले घट्दा भने पुरानै भाडादर लागू गर्ने गरेका छन् । भाडादर तोकिएर सूची टाँसिदा समेत लागू हुँदैन । कतिपय सवारी साधनले सूची समेत टाँस्दैनन् । सवारी साधनले लागू भएको भाडादर टाँस्नैपर्ने नियम छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अनुगमन र कारबाहीमा ध्यान दिँदा मात्रै सडक नियम लागू हुने यातायात क्षेत्रका अगुवा राम थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चालकले ट्राफिकले कारबाही गरिरहँदा नियम पालना गर्ने र ट्राफिकले बेवास्ता गर्नासाथ नियम नमान्ने गरेको पाइन्छ ।” व्यवसायी सङ्घसमेत चालक–सहचालकलाई जिम्मेवार बनाउन लाग्नुपर्ने उहाँ बताउनुहुन्छ ।

केही यात्रु सवारी भाडाका बारेमा जानकारी नभएर र कतिपय जानकारी भएर समेत ठगिइरहेका हुन् । देखिने ठाउँमा भाडादर नहुनु र तोकिएको भन्दा बढी भाडा लिँदा उजुरी गर्ने निकायका बारेमा जानकारी नहुने हुँदा यात्रु दैनिक ठगिन बाध्य भएका छन् । आफूलाई जानकारी हुँदा पनि बोल्न नसकिने महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यति पो हो भाडादर भनेर यात्रुले जिज्ञासा मात्रै राख्दा पनि सहचालक भाडा तिर्न गाह्रो भए के गाडी चढ्नु भन्दै झगडा गर्न तम्सन्छन् ।” सहचालकले यात्रुसँग राम्रो व्यवहार नगर्ने हुँदा यात्रु बोल्नै डराउनुपर्ने अवस्था छ ।

ट्राफिक प्रहरीको अनुगमन ज्यादै पातलो भएकाले यात्रु सधैँ मारमा पर्ने गरेको थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबैभन्दा मुख्य समस्या त आफू मर्कामा पर्दा न्याय पाउँछु भनेर यात्रु ढुक्क नै छैनन् । सार्वजनिक सवारीमा यात्रु मर्कामा पर्ने बर्सौैँदेखि भए पनि अनुगमन र कारबाहीमा सरोकार भएका निकायले चासो देखाएका छैनन् । मिडियामा धेरै विषय उठान हुँदा त्यसलाई सम्बोधनका लागि मात्र अनुगमन हुने उहाँ बताउनुहुन्छ ।

विद्यार्थी छुट मात्रै होइन ज्येष्ठ नागरिकलाई दिने छुट समेत सहचालकले सजिलै नदिने गरेको ज्येष्ठ नागरिकको गुनासो छ । चापागाउँका मेदिनी शर्मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीले चढाउनै गाह्रो मान्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले छुट दिनु नपर्दा बरु सजिलै चढाउँथे अहिले ज्येष्ठ नागरिकलाई गाडी रोक्न समेत गाह्रो मान्छन् ।” अपाङ्गता भएका व्यक्ति पनि आफूलाई सार्वजनिक सवारीले चढाउनै नचाहने बताउने गर्छन् ।

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथु ललितपुरमा सार्वजनिक सवारीको अनुगमन र कारबाही बढाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले कारबाहीमा तीव्रता दिएपछि सवारी नियमको पालना गर्ने क्रम बढेको छ ।” ट्राफिक प्रहरीको कारबाहीसँगै यात्रु आफैँ पनि सजग हुन खाँचो छ । बढी भाडा माग्नासाथ प्रहरीले तुरुन्त कारबाही गर्ने उहाँ बताउनुहुन्छ ।

यातायात व्यवसायी सङ्घ र यातायात व्यवस्था विभागबीच भएको पछिल्लो समझदारी अनुसार न्यूनतम भाडादर रु १३ हो । यात्रुले सवारी चढेदेखि चार किमीसम्म यात्रा गर्दा रु १३ तिर्दा हुन्छ । काठमाडौँ उपत्यकाकै हकमा अधिकतम १९ किमीसम्म रु २५ सम्म भाडा लिन पाउँछन् तर सवारी साधनले१९ किमी वा त्यसभन्दा कम दूरीमा नै रु ५० सम्म भाडा लिँदै आएका छन् । सञ्चिता घिमिरे/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts