Friday, August 26, 2016

खानेपानी आयोजना पुनः सञ्चालनमा

पाँचथर, १० भदौ । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ ।

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भएको अयोजना सात महिना विभिन्न प्राविधिक कठिनाइ देखाएर काम ठप्प हुँदा स्थानीयवासी निरास भएका थिए । आयोजना पुनः सुरु भएपछि उनीहरुमा आशाको मुना पलाएको स्थानीयवासी नवीन भण्डारीले बताउनुभयो ।

हालसम्ममा आयोजनाको २७ प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि प्राविधिक कठिनाइले केही समय भनेजस्तो काम अघि बढ्न नसकेपनि अहिले आवश्यक सामग्री तयार भएकाले अब काम नरोकिने आयोजनाको जिम्मा पाएका प्रेरा स्वामीनारायण जेभी कम्पनीका सन्तोष बस्नेतले बताउनुभयो ।

कुल रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भइरहेको उक्त आयोजनालाई मेलम्चीपछि नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना भनिएको छ । तमोर नदीको लोरिपा दोभानबाट यासोकको थामडाँडासम्म पम्पिङ गरी पानी ल्याएपछि वितरण गरिने लक्ष्य राखिएको छ ।

उक्त आयोजना सम्पन्न भएपछि खानेपानीको चरम अभाव खेपिरहेका पाँचथरको यासोक, रानीगाउँ र स्याबरुम्बावासी लाभान्वित हुने भएका छन् । सो क्षेत्रमा खानेपानी समस्याकै कारण बसाइ सर्ने क्रम बढेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts