काठमाडौँ, २८ साउन । सरोकारवालाले अहिलेको शिक्षा क्षेत्रमा देखिएको सङ्कट आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारीले) यहाँ आज आयोजना गरेको ‘वर्तमान शैक्षिक सङ्कट र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले हडताल नभई सहमति गरेर अहिलेको शिक्षा क्षेत्रमा देखिएको सङ्कट समाधान गर्न सकिने बताउनुभएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले अहिले शिक्षा क्षेत्रमा देखिएको सङ्कटलाई टेबुलमा बसेर निकास निकाल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले हडतालले निकास दिन नसक्ने भन्दै अन्त्यमा वार्ता नै सहमतिको बिन्दु भएको धारणा राख्नु भयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले विद्यार्थीकै मागका कारण शिक्षामा सुधार आएको भन्दै हडताल समधानको विकल्प नभएको बताउनुभयो । शिक्षा विभागका महानिर्देशक खगराज बरालले शैक्षिक क्षेत्रका सुधार आन्दोलन नभई विद्यार्थी, अभिभावक र सरोकारवाला निकायबीच छलफल गरेर मात्र हुने बताउनुभयो ।
कार्यक्रममा प्राविधिक तथा व्यवसायी तालिम परिषद् (सिटीइभिटी)का सदस्य सचिव डा रामहरि लामिछानेले शैक्षिक हडतालले गरिबका छोराछोरी पढ्न नपाउने भन्दै हडतालभन्दा पढाइ र शुल्कका बारेमा कुरा उठाउनुपर्ने बताउनुभयो ।
क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका पूर्वअध्यक्ष गुणराज लोहनी, शिक्षाविद् विद्यानाथ कोइराला, नेपाल अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारी, राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष धर्मदत्त रोकाया, नेपाल– निजी तथा आवासीय विद्यालय अर्गनाइजेनका अध्यक्ष कर्णबहादुर शाही, अनेरास्ववियुकी अध्यक्ष नविना लामा लगायतले शैक्षिक क्षेत्रका विकृति आपसी छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment