काठमाडौँ, ४ भदौ । स्थानीय निकायको सिमाना निर्धारणमा पार्टीको दृष्टिकोण बनाउन नेपाली काँग्रेसले आइतबार र सोमबार राजधानीमा अन्तक्र्रिया गर्ने भएको छ ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका लागि सुझाव लिन भदौ ५ र ६ गते पार्टीका केन्द्रीय पदाधिकारी एवम् सदस्य र ७५ जिल्ला सभापतिको भेला डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा विज्ञ डा श्याम भुर्तेलको समूहको प्रस्तुतिपछि नेताहरुले सुझाव दिनुहुनेछ ।
“कार्यक्रममा जिल्ला सभापतिलाई समूह बनाई छलफल गराइनेछ, छलफलबाट आएको निचोडको समूहगत प्रस्तुतिपछि नेताहरुको सुझावका आधारमा परिमार्जन गरी सिमाना निर्धारणका विषयमा पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक हुनेछ” – उहाँले भन्नुभयो ।
आइतबार बिहान ९ बजे बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
कारबाहीको माग
काँग्रेसले प्यूठान क्षेत्र नं २, क्षेत्रीय कार्यसमितिका सभापति सरोज थापा (रोज राणा) माथि खुकुरी प्रहार गरी घाइते बनाउने समूहको खोजी गरी कारबाही गर्न माग गरेको छ ।
उहाँलाई गत सोमबार काठमाडौँको बानेश्वरस्थित सेन्ट्रल क्याफे अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । राणाको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी क्षेत्रीय सभापति राणाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । काँग्रेसले एपेन्डिसाइटिसको शल्यक्रिया गरी वसुन्धारास्थित चिरायु अस्पतालमा उपचार गराइरहनुभएका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको पनि शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment