पोखरा, १ भदौ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारी कार्यालयका गतिविधिको सूचना माग्न पाउने नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।
सामुदायिक सूचना समाज कास्कीको आयोजनामा यहाँ आज भएको पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो कार्यालयमा भएका सूचना नागरिकको पहुँचसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख आयुक्त बाँस्कोटाले भन्नुभयो, “जसले सूचना दिन आलटाल गर्छ वा लुकाउन खोज्छ त्यो व्यक्ति पक्कै पनि शङ्काको घेरामा पर्न सक्छ र उसले गलत काम गरेको रहेछ भन्ने आशङ्का बढ्छ ।”
सो अवसरमा उहाँले सरकारी कार्यालयमा हुने गरेका भ्रष्टाचारविरुद्ध कलम चलाउँदै आउनुभएका सराङ्कोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरालाई रु ११ हजार १११ राशिको सामुदायिक सूचना समाज पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै, जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्य र पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेललाई कार्यालयमा सूचना अधिकारी भई सूचना सम्प्रेषण गरेकामा र विराट भण्डारीलाई सूचना प्रविधिमा उल्लेख्य योगदान पु¥याएकामा जनही रु पाँच हजार ५५५ राशिको सामुदायिक सूचना समाज पुरस्कार प्रदान गर्नुभएको थियो ।
सो अवसरमा समाजबाट प्रकाशित सूचना विशेष पुस्तकको पनि विमोचन गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment