Wednesday, August 17, 2016

संविधानले जातीय छुवाछूतको अन्त्य गरेको छ– अध्यक्ष थापा

काठमाडौँ, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको संविधानले जातीय छुवाछूत अन्त्य गरी सबै समुदायका अधिकारलाई सुरक्षित गरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन नेपालद्वारा ५४औँ मुलुकी ऐन दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा विद्यमान विभेदको अन्त्य गरी सामाजिक न्याय र समानता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय गाउँठाउँमा उत्पीडित जाति र समुदायलाई मन्दिरमा प्रवेश गर्न निषेध गरिएको पाइन्छ । यो सर्वथा स्वीकार्य छैन । मन्दिरमा विना भेदभाव सबै जातिले प्रवेश पाउने व्यवस्था गर्न पार्टीले अभियान चलाउँछ ।”

अध्यक्ष थापाले सामाजिक विभेदलाई अन्त्य गर्न विसं २०२० भदौ १ गते नेपालमा मुलुकी ऐनको व्यवस्था गरिएको स्मरण गर्दै यसले तत्कालीन समाजमा केही सुधार ल्याएको भए पनि उत्पीडित समुदायमाथि अझै विभेद कायमै रहेको उल्लेख गर्नुभयो ।

पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले देशमा करिब ४० लाख उत्पीडित समुदाय रहेको र उनीहरुले लामो समयदेखि विभेद खेप्नुपरिरहेको बताउनुभयो ।

नेता देवेन्द्र प्रधानले गरिबी र अज्ञानताका कारण अहिलेसम्म पनि मानिसले मानिसलाई नै विभेद गर्दैआएको छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts