काठमाडौँ, २७ साउन । व्यस्थापिका–संसद् वातावरण संरक्षण समितिले ललितपुरको बागडोलस्थित आदर्श निर्माण कम्पनीको आसफाल्ट प्लान्टलाई कानुनी व्यवस्था गरी नीतिगत रुपमा सञ्चालन गर्न दिनुपर्ने निर्णय गरेको छ । सो प्लान्टबाट सडक पिच गर्नका लागि अलकत्रा र गिट्टीलाई मिसाउने गरिन्छ ।
समितिको आज बसेको बैठकले विकासका नाममा वातावरणलाई बिगार्न दिन नहुने भए पनि उक्त प्लान्ट वातावरणीय दृष्टिले मापदण्डभित्र रहेको देखिएकाले नीतिगत व्यवस्था गरी व्यवस्था गरी सञ्चालन गर्न दिनुपर्ने निर्णय गरेको हो ।
समिति सभापति जनकराज चौधरीले उक्त विषय अदालतमा विचाराधीन मुद्दाका रुपमा रहेको जानकारी दिँदै उद्योग नीतिअन्तर्गत प्लान्ट सञ्चालनलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । सम्बन्धित विभिन्न मन्त्रालयसँग समेत छलफल भइसकेको बताउँदै उहाँले भन्नुभयो– “हामी विकास विरोधी हैनौँ तर स्थानीय र वातावरणलाई प्रतिकूल असर नपारी विकासका कार्य गर्न रोक लगाउन मिल्दैन ।”
उक्त प्लान्ट अनुगमन समितिका संयोजक सांसद राजाराम स्याङ्तानले प्लान्टको स्थलगत अनुगमनबाट कम्पनीले वातावरणीय मापदण्ड पु¥याएको देखिएकाले आफ्नो समितिले कम्पनी सञ्चालनमा रोक लगाउनुपर्ने कारण छैन भन्ने प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो ।
बैठकमा सांसद सुरेन्द्रराज आचार्यले प्लान्ट सञ्चालनका लागि कम्पनीले कीर्तिपुरमा अनुमति लिएको तर अहिले ललितपुरमा सञ्चालन गरिरहेको बताउँदै प्लान्टलाई बन्द गर्नेभन्दा पनि नियमन गर्नुपर्छ भन्नुभयो ।
बैठकमा सांसद मानबहादुर विश्वकर्मा, हरि राजवंशी, मिठु मल्ल, सकलदेव सुतियार, टुकराज सिग्देल, लीला मगर, गणेश विमली, सीता लुइँटेल (ज्ञवाली), कविताकुमारी सरदारलगायतले स्थानीयको माग तथा आवश्यकताका आधारमा प्लान्टलाई सञ्चालन गर्न दिनुपर्ने विचार राख्नुभयो । रासस
No comments:
Post a Comment